प्रधानन्याधीसका लागि २ जनाको नाम सिफारिस, संवैधानिक परिषद्को बैठक मङ्सिर २२ मा

काठमाडौँ । संवैधानिक परिषद्को आजको बैठकमा नयाँ प्रधानन्यायाधीशका लागि न्याय परिषद्बाट सिफारिश भएका वरिष्ठतम दुई न्यायाधीशको नाम पेश भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको बैठकमा न्याय परिषद्बाट प्रधानन्यायाधीशका लागि सिफारिश भइआएका सर्वोच्च अदालतमा तीन वर्ष कार्यकाल पूरा भएका न्यायाधीशद्वय दीपकराज जोशी र चोलेन्द्रशम्शेर जबराको नाम पेश भएको राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिए ।

Advertisement

सर्वोच्च अदालतका प्रधानन्यायाधीश ओमप्रकाश मिश्र आगामी पुस १८ गते उमेर हदका कारण सेवानिवृत्त हुँदै छन् । सर्वोच्च अदालतका नयाँ प्रधानन्यायाधीशका लागि संवैधानिक परिषद्ले एक महीनाअघि नै नाम सिफारिश गर्ने परम्परा छ । न्याय परिषद्ले सिफारिश गरेका नाम संसदीय सुनुवाइका लागि सङ्घीय संसद् मातहत रहेको संसदीय सुनुवाइ समितिमा अनुमोदनका लागि पठाउनुपर्नेछ ।

बैठकमा प्रधानन्यायाधीशसहित अरु संवैधानिक आयोगमा रिक्त पदाधिकारीका लागि आएका नामबारे छलफल गरौं भन्ने कुरा भए पनि नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक जारी रहेको हुँदा प्रतिपक्ष दलका नेताका लागि समय अभाव रहेकाले आज कुनै निर्णय नगरी बैठक सकिएको अध्यक्ष तिमिल्सिनाले बताए । सङ्घीय संसद्मा प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले बैठकमा सामान्य छलफल भए पनि कुनै निर्णय नभएको बताए ।

परिषद्को अर्को बैठक यही मङ्सिर २२ गते बस्ने निर्णय भएको पनि उनले जानकारी दिए । नेपालको संविधाननुसार गठन भएका आदिवासी जनजाति, थारु, मधेसी, मुसलमान, राष्ट्रिय समावेशी, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका पदाधिकारी पनि रिक्त छन् । साथै यसअघि कायम रहेका राष्ट्रिय दलित र राष्ट्रिय महिला आयोग पनि लामो समयदेखि नेतृत्वविहीन छन् । बैठकमा प्रधानन्यायाधीश मिश्र र सभामुख कृष्णबहादुर महरा पनि सहभागी थिए ।

More News last news
Loading...