काठमाडौं । नेपाली कांग्रेस जिल्ला कार्यसमिति स्याङ्जाका सभापति एवं पूर्व सांसद कमलप्रसाद पंगेनीको निधनप्रति नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले कमलप्रसाद पंगेनीको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।
पार्टी कार्यालयद्धारा जारी बिज्ञप्तीमा “नेपाली कांग्रेस स्याङ्जाका नेता एवं जिल्ला पार्टी सभापति कमलप्रसाद पंगेनीको असामयिक निधनबाट नेपाली कांग्रेस पार्टी तथा नेपालको लोकतान्त्रिक आन्दोलनको अभियानमा नै अपूरणीय क्षति पुग्न गएको छ । उहाँले नेपाली कांग्रेसको संगठन विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएको थियो ।
उहाँको निधनप्रति गहिरो दुःख व्यक्त गर्दछु । उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उहाँको आत्माको चीर शान्तिको कामना गर्दछु । साथै, शोक सन्तप्त परिवारजनहरुमा हार्दिक समवेदना प्रकट गर्दछु ” उल्लेख छ । पंगेनीको आज विहान ५ः३० बजे स्याङ्जामा हृदयघातबाट निधन भएको थियो ।
स्वर्गीय पंगेनी २०६२ मा तत्कालीन नेपाली कांग्रेस प्रजातान्त्रिकको तर्फबाट स्याङ्जा जिल्लाको सभापति हुनुहुन्थ्यो र २०६४ मा पार्टी एकीकरण पश्चात उनी नेपाली कांग्रेस जिल्ला कार्यसमिति स्याङ्जाको सहसभापति, पार्टीको १२ औँ महाधिवेशन २०६७ र १३ औँ महाधिवेशन २०७२ देखि हालसम्म निरन्तर स्याङ्जा जिल्लाको सभापति छन् ।
स्वर्गीय पंगेनी २०६४ को संविधानसभा निर्वाचनमा स्याङ्जा जिल्ला निर्वाचन क्षेत्र नं.१ बाट संविधानसभा सदस्यको उम्मेदवार, २०७० को संविधानसभा निर्वाचनमा स्याङजा क्षेत्र नं. २ बाट संविधानसभा सदस्यमा निर्वाचित र २०७४ मा स्याङ्जाको संघीय क्षेत्र नं.१ को प्रदेश सभा क्षेत्र नं.१ बाट नेपाली कांग्रेसको उम्मेदवार थिए ।
स्वर्गीय पंगेनीको अन्त्येष्ठी आजै गरिने कार्यक्रम रहेको पार्टी कार्यालयद्धारा जारी बिज्ञप्तीमा उल्लेख छ । अन्त्येष्ठीमा सहभागी हुन नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा.शशांक कोइराला, केन्द्रीय सदस्य गोपालमान श्रेष्ठ, पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेल लगायतका नेताहरु आजै अपरान्ह स्याङ्जा प्रस्थान गर्ने कार्यक्रम छ ।
यसैगरी पंगेनीको शोकमा श्रावण २१ गते केन्द्र र देशका ७६ वटै जिल्ला कार्यालयहरु बन्द गर्ने र पार्टीको झण्डा आधा झुकाउने , सम्बन्धित स्याङ्जा जिल्ला कार्यालय ३ दिन बन्द गर्ने र ३ दिनसम्म पार्टीको झण्डा आधा झुकाउने, केन्द्रीय कार्यालय र सम्बन्धित स्याङ्जा जिल्ला कार्यालयमा १३ दिनसम्म शोक पुस्तिका राख्ने र १३ औँ दिनका दिन स्याङ्जाको सदरमुकाममा श्रद्धाञ्जली सभाको आयोजना गर्ने निर्णय पनि गरेको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
