जापानी राजदूतद्वारा सभामुख महरासँग भेट : नेपालको हरेक क्षेत्रमा सहयोग गर्न जापान तयार

काठमाडौं। सभामुख कृष्णबहादुर महरासँग नेपालका लागि नवनियुक्त जापानी राजदूत मासामिची साइगोले सभामुखको कार्यकक्ष सिंहदरबारमा भेटवार्ता गर्नुभयो ।

भेटमा सभामुख महराले नेपाल र जापानबीच राजनीतिक सम्बन्ध मात्रै नभई सामाजिक, साँस्कृतिक सम्बन्ध निकै प्रगाढ रहेको बताउनुभयो ।

Advertisement

“नेपाल बुद्धको जन्मभूमि हो, जापान बौद्धमार्गीहरुको देश’, सभामुख महराले भन्नुभयो, “हामी राजनीतिक सम्बन्धका हिसाबले जति नजिक छौं, त्यत्तिकै साँस्कृतिक, धार्मिक र भावनात्मक हिसाबले पनि निकट छौं ।”

जापान सरकारले नेपालको विभिन्न क्षेत्रमा आर्थिक लगानी तथा सहयोग गरिरहेको चर्चा गर्दै सभामुख महराले नेपालको महाभूकम्पको बेला जापान सरकारले गरेको सहयोग आफूहरुले कहिल्यै नभुल्ने बताउनुभयो । उहाँले हालै जापानमा आएको बाढीपहिरोले पुयाएको जनधनको क्षतिले आफूलाई दुःखित तुल्याएको समेत बताउनुभयो ।

नेपालमा संविधान निर्माणपछि तीन तहको निर्वाचन सम्पन्न गरेर देशले संघीय शासन प्रणालीको अभ्यास गरिरहेको भन्दै सभामुख महराले आफूहरुले संविधानको मर्मअनुरुप नयाँ ऐन, कानून निर्माणलाई मुख्य प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो ।

संसदीय सम्बन्धलाई प्रगाढ बनाउन संसदीय मैत्री संघ गठन गर्नेतर्फ आफूले सोचिरहेको भन्दै सभामुख महराले यस्ता समूहले एक अर्काको संसदीय अभ्यास, अनुभव र प्रचलन सिक्ने मौका मिल्ने बताउनुभयो ।

राजदूत मासामिची साइगोले जापान र नेपालबीचको पारस्परिक सम्बन्ध पहिलेजस्तै प्रगाढ र दिगो रहने विश्वास व्यक्त गर्नुभयो ।

जापान सरकारले नेपाललाई जुनसुकै क्षेत्रमा पनि सहयोग गर्न तयार रहेको भन्दै संघ, प्रदेश र स्थानीय तहको सरकारलाई सुशासन, क्षमता अभिवृद्धि लगायतका कामहरुमा आवश्यक सहयोग गर्न इच्छुक रहेको बताउनुभयो ।

भेटवार्तामा संघीय संसदका महासचिव मनोहरप्रसाद भट्टराई, सचिवद्वय गोपालनाथ योगी र डा. भरतराज गौतमलगायतको उपस्थिति रहेको थियो ।

More News last news
Loading...