कांग्रेसभित्र बहुपदीय बहस, एक प्रदेश, एक सहमहामन्त्रीको प्रस्ताव, उपसभापति बढ्ने

महेश्वर गौतम

काठमाडौं । भर्खरै पदाधिकारीको पूर्णता पाएको प्रतिपक्षी दल नेपाली कांग्रेसले बहुपदीय प्रणालीमा जाने बहस थालेको छ। उपसभापति, महामन्त्री र सहमहामन्त्रीको संख्या बढाउने कसरतमा कांग्रेस जुटेको हो।

Advertisement

१३औं महाधिवेशनपछि विभिन्न गुट र उपगुटमा विभक्त कांग्रेसभित्र पार्टीलाई एकढिक्का भएर अघि बढेको सन्देश दिन र संगठनलाई बलियो बनाउन भन्दै पदाधिकारीमा संख्या थप्नेबारे बहस थालिएको हो।

हाल कांग्रेस विधानमा निर्वाचित सभापति एक, एक महामन्त्री र कोषाध्यक्ष तथा मनोनीतमा एक–एक उपसभापति, महामन्त्री र सहमहामन्त्री गरी तीन जना रहने व्यवस्था छ।

यसरी पदाधिकारी संख्या बढाउँदा कम्तीमा कुल तीन जना उपसभापति, तीन महामन्त्री र प्रदेशअनुसार एक–एक सहमहामन्त्री गरी सात जना राख्नुपर्ने बहस थालिएको हो।

यसरी पदाधिकारी संख्या थप गर्दा केन्द्रीय सदस्यहरूको संख्यासमेत कायम संख्यामा ४० प्रतिशत बढाउने विषयमा छलफल चलेको कांग्रेस स्रोतले बतायो।

नेता मीन विश्वकर्माले पार्टीभित्र पदाधिकारी संख्या बढाउने विषयमा आन्तरिक छलफल चलेको बताए। उनले राजधानीसँग भने, ‘संविधानले व्यवस्था गरेको नयाँ संरचनाअनुसार बहुपदीय प्रणालीबारे छलफल चलिरहेको छ, सकेसम्म नेताहरूबीच सहमतिबाटै टुंगोमा पुग्छौं, सोबारे समझदारी खोज्ने काम भइरहेको छ।’

शीर्ष तहमा सहमति भए बाधा अड्काउ फुकाउमार्फत विधान संशोधन गरी अघि बढ्ने, सहमति नभए जिल्ला सभापति, महासमिति सदस्यलगायतसँगको परामर्शपछि निर्णय लिने तयारी भएको उनले बताए।

कांग्रेसले महासमिति बैठक भदौभित्र गर्नेगरी केन्द्रीय समितिले निर्णय गरिसकेको छ। सो बैठकले नयाँ संविधानले व्यवस्था गरेअनुसार पार्टीको विधान संशोधन गर्ने बताइएको छ।

कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले क्षेत्रीय तह हुँदै जिल्ला र केन्द्रसम्म छलफल चलाएर प्राप्त राय सुझावअनुसार अघि बढ्ने तयारी भएको बताए।

उनले जोडे, ‘बहुपदीय पदाधिकारीका विषयमा छलफल चलेको छ, साथीहरूबाट राय पनि आएको छ, क्षेत्रीय, जिल्ला र केन्द्रीय तहसम्म यस विषयमा छलफल गरेर निर्णयमा पुगिन्छ ।’ कांग्रेस विधानको दफा २१ मा हाल ८५ सदस्यीय केन्द्रीय समिति रहने व्यवस्था छ।

त्यसमध्ये एक सभापति, एक महामन्त्री र एक कोषाध्यक्षसहित ६४ जना निर्वाचित तथा बाँकी सभापतिले मनोनयन गर्ने प्रावधान छ।

More News last news
Loading...