विपद्को पीडामा पुतलीबजारको साथ : जनप्रतिनिधिदेखि राष्ट्रसेवकसम्मको सहकार्यमा २७ लाख बढी रुपैयाँ राहत सहयोग
रसुवा जिल्लाको रसुवागढी, भोटेकोशी नदी तथा तल्लो तटीय क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको पीडामा पुतलीबजार नगरपालिका सहयात्री बनेको छ। विपद्को कठिन घडीमा राहत तथा पुनर्स्थापनाका लागि नगरपालिकाले जनप्रतिनिधि तथा कर्मचारीको सेवा सुविधाबाट सहयोग जुटाउनुका साथै वस्तुगत सहायता उपलब्ध गराउने निर्णय गरेकोहो।
नगर प्रमुख, उपप्रमुख, वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरूको सेवा सुविधाबाट रु. ३ लाख ८८ हजार ७ सय ५०, नगरपालिकाका कर्मचारी तथा स्वास्थ्य संस्थामा कार्यरत राष्ट्रसेवकहरूको तलबबाट रु. १२ लाख ५१ हजार १ सय ८ तथा रु. ११ लाख बराबरको वस्तुगत सहायता गरी कुल रु. २७ लाख ३९ हजार ८ सय ५८ बराबरको सहयोग बाढीपीडितका लागि उपलब्ध गराउने निर्णय गरिएको नगरपालिकाले जनाएको छ।
नगरपालिकाको वन, वातावरण तथा विपद् व्यवस्थापन समितिको बैठकले गरेको उक्त निर्णयले विपद् व्यवस्थापनलाई मात्र प्रशासनिक जिम्मेवारीका रूपमा नभई मानवीय दायित्व र सामाजिक उत्तरदायित्वका रूपमा आत्मसात् गरेको सन्देशका रुपमा बुझ्न सकिन्छ। जनप्रतिनिधि, कर्मचारी तथा राष्ट्रसेवकहरूले आफ्नो सेवा सुविधाबाट समेत योगदान गर्नुले संकटका बेला स्थानीय सरकार र समुदायबीचको सहकार्यलाई थप अर्थपूर्ण बनाएको छ। संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने तथा वस्तुगत सहायता बापतको रकमबाट दैनिक उपभोग्य सामग्री खरिद गरी उपलब्ध गराउने निर्णय गरिएको छ। यसबाट प्रभावित परिवारको तत्कालीन आवश्यकता सम्बोधनसँगै राहत र पुनर्स्थापनाको प्रयासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
विपद्ले पीडा र चुनौती लिएर आए पनि त्यसका बीचमा जन्मिने सहकार्य, संवेदना र मानवताको भावना समाजको ठूलो शक्ति बन्न सक्छ। पुतलीबजार नगरपालिकाको यो पहल त्यही विश्वासको एउटा उदाहरण हो
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
