पूर्वराजा ज्ञानेन्द्रको चेतावनी ‘हाम्रो त्यागलाई कमजोरी नठानियोस्’

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले व्यवस्था बदलेका शासकहरूले नागरिकको अवस्था भने परिवर्तन गराउन नसकेको बताउनुभएको छ । उहाँले आफूहरूको त्यागलाई कमजोरी नठान्न वर्तमान शासकहरूलाई चेतावनी दिनुभएको छ।

प्रजातन्त्र दिवसको अवसरमा शुभकामना सन्देश दिँदै पूर्वराजा शाहले व्यवस्था बदलियो भन्नेहरूले अवस्था राम्रोसँग बदल्न नसक्नु दुःखद् भएको टिप्पणी गर्नुभयो । उहाँले अब राष्ट्र जोगाउन र राष्ट्रिय एकता कायम राख्न आफूलाई साथ दिन नागरिकलाई आह्वान गर्नुभयो।

Advertisement

जनताको भलोका लागि आफूले ओहोदा र सुख सुविधा त्यागेको शाहको दाबी छ । राजगद्दी त्यागेको विषयलाई कमजोरी नठान्न शाहले दलहरूलाई चेतावनी दिँदै भन्नुभएको छ– ‘नेपालको उन्नतिका लागि त्याग गरेको र जनहितमा अन्य कुरा पनि त्याग्न तयार रहेका छौं ।’

जनता र राजा मिलेर प्रजातन्त्रलाई सबल बनाउन लागिपरेको इतिहास साक्षी रहेको उल्लेख गर्दै उहाँले प्रजातन्त्र आजको शासन पद्धतिमा उच्चतम पद्धति हुनुपर्ने आवश्यकता औंल्याउनुभयो । प्रजातन्त्रमा सबैको पहिचान र अस्तित्व हुनुपर्ने बताउँदै शाहले भन्नुभएको छ, ‘निषेधको दृष्टिकोण राख्ने राजनीतिले प्रजातन्त्रलाई बलियो बनाउँदैन, पक्षविपक्षको अहंकार आ–आफ्नैखालको स्वार्थ तथा हठले पनि प्रजातन्त्रलाई गतिशील बनाउन सक्दैन ।’ शाहले देशको इतिहास मेटिँदै गएको अनुभूति गरिएको बताउनुभयो ।

नेपालीको पसिना स्वदेशमा नभई बाहिर पोखिएको औल्याउँदै शाहले भन्नुभएको छ, ‘जन्मँदै नेपालीको शिरमा हजारको होइन, लाखको ऋणभार बोझ छ, विद्यार्थी र शिक्षक पातलिँदै गएको र व्यवसाय, व्यापार निरन्तर धराशयी भएको छ ।’

More News last news
Loading...