काठमाण्डौ । अमेरिकी सहयोग नियोग (यूएसएआईडी) ले नेपालमा सञ्चालित सबै परियोजना स्थगित गर्न पत्र पठाएको छ । अमेरिकाले तीन महिनाका लागि विदेशी अनुदान स्थगित गर्ने निर्णय गरेसँगै यूएसएआईडीले नेपाललाई पनि पत्र पठाएर तीन महिनाका लागि सबै कार्यक्रम रोक्न भनेको हो ।
गैरसरकारी संस्था महासङ्घका अध्यक्ष रामप्रसाद सुवेदीले दातृ निकायमार्फत हिजो पत्र प्राप्त भएको उज्यालोलाई जानकारी दिनुभयो । उहाँका अनुसार पत्रमा तालिम, सामान किनमेल, समुदायका लागि सञ्चालित कार्यक्रमलगायत स्थगित गर्न भनिएको छ । तीन महिना पछि प्रभावकारिताका आधारमा मूल्याङ्कन गरेर अनुदान दिने/नदिनेसम्बन्धी निर्णय गर्नेसमेत पत्रमा उल्लेख भएको सुवेदीले जानकारी दिनुभयो ।
नयाँ सरकार आउँदा अघिल्ला कार्यक्रमहरूको लगानीमा प्रभावकारिता हेर्नु स्वाभाविक भएको र पत्रमा कार्यक्रमहरू खारेज नभनी स्थगित भनेकाले पछि अनुदानले निरन्तरता पाउने सम्भावना रहेको उहाँको भनाइ छ । नेपाल जस्तो अल्पविकसित देशलाई दिएको अनुदान पूर्ण रूपमा रोक्ला जस्तो आफूलाई नलागेको सुवेदीले उज्यालोलाई बताउनुभयो । यूएसएआईडीले अर्थ मन्त्रालयलाई पनि पत्र लेखेर अनुदानमा सञ्चालित सबै कार्यक्रम तत्कालका लागि स्थगित भएको जानकारी दिएको छ।
पत्रमा यूएसएआईडी र नेपालको सम्झौताअनुसार सञ्चालित स्वास्थ्य, शिक्षा, कृषि र समावेशी नीतिसहित मुख्यतः चार क्षेत्रका कार्यक्रम तत्काल निलम्बित भएको उल्लेख छ। पत्रमार्फत राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णय कार्यान्वयनका लागि अहिलेलाई ९० दिनका लागि अनुदान निलम्बन गरिएको जानकारी दिए पनि पनि त्यसपछि के हुन्छ भन्ने उल्लेख छैन ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
