काठमाडौं । लामो समयको प्रतिक्षापछि अन्ततः हिमाल पारीको जिल्ला मुस्ताङको उपल्लो भेगस्थित नेपाल र चीनबीचको २४ नं सीमास्तम्भ क्षेत्रमा कोरला नाकामा नेपालले अध्यागमन कार्यालय सञ्चालनमा ल्याइएको छ। लामो समयदेखि चासो र चर्चामा उक्त नाका गत बुधबारदेखि सञ्चालनमा ल्याइएको हो ।
कार्यालय उद्घाटनका लागि गृहमन्त्री रमेश लेखक, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, सुरक्षा निकायका नेतृत्वसहित कोरला पुगेका थिए । सोही दिन मुस्ताङको लोमान्थाङ गाउँपालिका वडा नं १ छोसेरस्थित नेचुङमा नवनिर्मित सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट (बीओपी) भवन पनि उद्घाटन गरियो ।
सो अवसरमा मन्त्री लेखकले वर्तमान सरकार गठन भएको १०८ दिनमा कोरला नाकामा अध्यागमन कार्यालय स्थापना गर्न सकिएको बताए । सरकारले सय दिन समयवधिमा नै कार्यालयको उद्घाटन गर्ने तयारी गरेको थियो । मन्त्री लेखकले यस नाकाबाट यस अघि दुुई देशका नागरिक मात्र प्रवेश पत्रका आधारमा आवतजावत गर्नुुपर्ने बाध्यता अन्त्य हुँदै यस नाकाबाट चीन र चीनबाट नेपाल आवतजावत गर्नका लागि भिसा सेवा प्रारम्भ भएको बताए ।
अध्यागमन कार्यालय सञ्चालन सरकारको ऐतिहासिक उपलब्धि भएको उल्लेख गर्दै उनले आगामी दिनमा यसको सहज सञ्चालनका लागि पूर्वाधार विकासका साथै सेवा विस्तारमा जोड दिइने विश्वास दिलाए ।
कोरला नाका मुस्ताङका लागि मात्रै नभई गण्डकी प्रदेशकै ‘लाइफ लाइन’ भएको उल्लेख गर्दै मन्त्री लेखकले यस नाकालाई नेपालकै महत्त्वपूर्ण नाकाका रुपमा विकास गरिने बताए । नेपाल र चीनबीच व्यापार, पर्यटन, धार्मिक पर्यटन लगायतको गन्तव्यका रुपमा यसको विकास हुने उनले विश्वास व्यक्त गरे।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
