झ्याप्ले खोलाको पहिरोमा २९ शव फेला, चितवनको अर्को बस पनि पुरिएको आशंका

धादिङ। पृथ्वी राजमार्गको झ्याप्ले खोलामा पहिरोले अहिलेसम्म पुरिएका २९ जनाको शव निकालिएको छ। प्रहरीका अनुसार शनिबार १४ जनाको शव निकालिएकोमा आइतबार अहिलेसम्म १५ जनाको शव निकालिएको हो। अहिलेसम्म निकालिएका शव त्रिवि शिक्षण अस्पतालमा पठाइएको र आफन्त बेपत्ता भएका परिवारले प्रमाणपत्र सहित सम्पर्क गरिदिन खानीखोला प्रहरीले अनुरोध गरेको छ।

झ्याप्ले खोलामा गएको पहिरोमा अहिलेसम्म बुटवलबाट आएको विंगर, गोरखाबाट आएको बस र चितवनबाट आएको माइक्रो बस परेको पुष्टि भएको छ। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले पहिरो उत्खनन गर्दा आइतबार बिहान बस र माइक्रो बस भेटिएको हो।

Advertisement

यसैगरी, चितवनबाट यात्रु बोकेर काठमाडौंका लागि हिँडेको अर्को बस पनि पहिरोमा पुरिएको आशंका गरिएको छ । यो बसका चालक, सहचालक र कुनै पनि यात्रु सम्पर्कमा छैनन् । बस बाटोमा कतै देखिएको छैन र काठमाडौं आइपुगेको पनि छैन ।

एनबी मनकामना माई यातायात प्रालिको बस चितवनको पुल्चोकबाट यात्रु बोकेर काठमाण्डौ हिँडेको थियो । शुक्रबार दिउँसो २ बजे हिँडेको बा २ ख १३४५ नम्बरको बस सम्पर्कमा छैन ।

प्रालिका अध्यक्ष नर बहादुर रानाका अनुसार यो बसले हिँड्ने बेला काउन्टरबाट चलानी बनाएको थिएन त्यसैले यसमा कति यात्रु थिए भन्ने यकिन छैन । अपुष्ट जानकारीअनुसार बसमा १७ जना रहेको हुनसक्ने उनले बताए ।

More News last news
Loading...