काठमाडौं । काठमाडौँबाट प्रहरीले कोकिनसहित तान्जानियन नागरिकलाई पक्राउ गरेको छ। तान्जानियन नागरिकसँग रहेको कोकिन भारततर्फ लैजान आएकी भारतीय महिलासमेत पक्राउ परेकी छिन्। प्रहरीले सोमबार नयाँ बानेश्वरस्थित दुई अलग होटलबाट कोकिनसहित भरिया र भारतीय महिलालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा तान्जानियन नागरिक ५८ वर्षीय जुमा अब्दुल्ला एमजी र भारतीय महिला के जुचोबेनी सोपोई रहेका छन्। लागुऔषध नियन्त्रण ब्युरोको कोटेश्वरको टोलीले सुरूमा तान्जानियन नागरिकलाई होटलबाट पक्राउ गरेको थियो। उनीमाथि प्रारम्भिक अनुसन्धान गर्दा कोकिन लिन आएकी महिला अर्को होटलबाट पक्राउ परेकी थिइन्।
ब्युरो प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिनेश आचार्यका अनुसार जुमाले बोकेको झोलाभित्र एक किलो १०४ ग्राम कोकिन बरामद भएको थियो। बरामद भएको कोकिनको अवैध बजार मूल्य तीन करोड ८७ लाख हुन आउँछ।
तान्जानियन नागरिकले कोकिन निलेर आएका थिए। होटलबाट आएर दिसाबाट ‘अनलोड’ गरी भारतीय महिलालाई बुझाउने तयारी गरिरहेका थिए।
एसएसपी आचार्यका अनुसार तान्जानियन नागरिक इथियोपियाबाट दुबई हुँदै नेपाल आएका थिए। दुबईबाट कतार एयरको जहाजमा आइतबार मात्रै आएर उनी होटलमा बसेका थिए। आइतबार नै भारतीय महिला बागडोग्रा एयरपोर्टमा उत्रिएर बस चढेर काठमाडौं आइपुगेकी थिइन्। उनी स्थलमार्गबाटै कोकिन लिएर भारत जान लागेकी थिइन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
