भारतमा राम मन्दिर बन्दा नेपालमा मनाइयो हर्षउल्लास

काठमाडौँ । भारतको अयोध्यामा बाबरी मस्जिद भत्काइएको लामो समयपछि राम मन्दिर स्थापना गरिएको छ । भव्य रुपले नवनिर्मित राम मन्दिरको उद्घाटन तथा प्राण प्रतिष्ठा गरिएको छ । सोमबार दिउँसो सवा १२ बजे एक धार्मिक अनुष्ठानसहित रामको मूर्तिमा प्राण प्रतिष्ठा सुरु भएको थियो । उक्त समारोहमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सहभागी भई रामको मूर्ति तथा मन्दिरको प्राण प्रतिष्ठा गरेका हुन् । कार्यक्रममा सहभागी हुन भारतका विभिन्न नेता, कलाकार, खेलाडी, उद्योगी-व्यवसायी समेत अयोध्या पुगेका थिए ।

समारोहको पूजा विधिका प्रधानमन्त्री मोदी, राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) का प्रमुख मोहन भागवत, यूपीका मुख्यमन्त्री योगी आदित्यनाथ, यूपीकै राज्यपाल आनन्दीबेन पटेल तथा मुख्य आचार्य मन्दिरको गर्भगृहमा प्रवेश गरेका थिए । नेपाली शिलाबाट बनेको रामको मूर्तिलाई श्रृंगार गरेर चिटिक्क बनाइएको थियो । शुभमुहुर्तमा पर्दा हटाएर मूर्ति उद्घाटन गरी प्राण प्रतिष्ठा तथा पूजा गरियो । पूजा विधि सकिएपछि मुख्यमन्त्री आदित्यनाथले प्रधानमन्त्री मोदीलाई राम मन्दिरको प्रतिमा उपहार दिए । उनले राम मन्दिर संकल्प गरिएको ठाउँमा नै बनाएको बताए । साथै आफू त्रेतायुगमा आइपुगेको जस्तो महसुस भएको बताउँदै प्रत्येक राम भक्तको हृदयमा आज खुशी र सन्तुष्टिको भावना छाएको बताए । भारत लामो समयदेखि यही दिनको प्रतिक्षामा रहेको उनको भनाइ थियो ।

Advertisement

तर भारतीय विपक्षी दल कांग्रेसका नेता राहुल गान्धीलाई भने मन्दिर जानबाट रोक लगाइयो । उनी मन्दिर जान पाउनुपर्ने माग गर्दै आसाममा धर्नामा समेत बसे । गान्धी ‘भारत जोडो न्याय यात्रा’को क्रममा असममा थिए । उनी वैष्णव सन्त श्रीमन्त देवको स्थल बटाद्रवा थान मन्दिर जान चाहन्थे तर बाटोमै प्रहरीले राहुल गान्धीलाई रोकेको बताइएको छ । आफूलाई मन्दिर प्रशासनले बोलाएको र हात मिलाएर भगवानको दर्शन गर्न चाहेको बताउँदै गान्धीले आफूलाई किन बाटैमा रोकिएको हो भनी प्रहरीलाई प्रश्न समेत गरेका छन् ।

नेपालमा पनि राम मन्दिरको उद्घाटन तथा प्राण–प्रतिष्ठाबाट हिन्दू आस्थावान्हरूमा खुसी छाएको छ । सामाजिक सञ्जालमा अयोध्यामा राम मन्दिर बनेको विषय चर्चामा छ । उनीहरूले मन्दिर पुननिर्माण हुँदा अयोध्याको ऐतिहासिक साख फर्किएको बताएका छन् । साथै भारतीय प्रधानमन्त्रीको कुशलताले धार्मिक पर्यटन वृद्धि गर्न र हिन्दूहरूको भावना थप जित्न सफल रहेको टीका–टिप्पणी भइरहेका छन् । राम मन्दिरको पूजाआजा गराउन नेपाली पुरोहित राखिएका छन् । झापाका दुर्गाप्रसाद गौतम सन् २०२० देखि नै राम जन्मभूमि समेत रहेको अयोध्याको उक्त मन्दिर क्षेत्रका मुख्य ‘आचार्य’का रूपमा छन् । कार्यक्रममा सहभागी हुन नेपालबाट पनि सनातन हिन्दु धर्मावलम्बीहरूको सहभागिता रहेको छ ।

रामको मूर्ति बनाउन नेपालबाटै शिला लगिएको थियो । गत सालको माघ १२ गते कालीगण्डकी नदीबाट उत्खनन गरिएको देवशिला अयोध्या पठाइएको थियो । अयोध्याको राम मन्दिरमा राखिने भगवान् रामको मूर्ति बनाउनका लागि नेपालले उक्त शिला भारतलाई उपहार दिएको थियो । मूर्तिका लागि शिला लग्ने क्रम होस् या नेपाली पुरोहित अयोध्याका मुख्य आचार्य बनेकोमा होस् नेपालीहरूमा खुसी छाएको थियो ।

More News last news
Loading...