काठमाडौं । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा पहिलो पटक मेलम्ची खानेपानी आयोजनाको पानी वितरण सुरु भएको छ। बुधबार पानी वितरण कार्यको परीक्षण गरिए पनि बिहीबारदेखि नियमित रूपमा वितरण कार्य सुरु गरिने भएको छ।
यसअघि काठमाडौँ उपत्यकामा दुई पटक मेलम्चीको पानी वितरण गरिए पनि सिंहदरबारमा वितरण हुन सकेको थिएन । खानेपानी मन्त्रालयले सिंहदरबारभित्रका सरकारी कार्यालय तथा निकायमा चौबिसै घण्टा उपलब्ध हुने गरी मेलम्चीको पानी पठाउने तयारी गरिएको छ ।
यसअघि नवनियुक्त खानेपानीमन्त्री अब्दुल खानले पदभार ग्रहण गर्ने क्रममा सिंहदरबारभित्र ट्याङ्क, जार र बोतलको पानीको आपूर्ति बन्द गरी मेलम्चीको पानी वितरणको व्यवस्था मिलाउन निर्देशन दिएका थिए ।
काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) बानेश्वर वितरण केन्द्रका प्रमुख विजय विश्वकर्माले बिहीबार बिहान १० बजेदेखि सिंहदरबारमा नियमित रूपमा मेलम्चीको पानी वितरण सुरु गरिने जानकारी दिए । उनले त्यसका लागि आवश्यक सबै तयारी पूरा गरिएको जनाए ।
उनका अनुसार सिंहदरबारमा मेलम्चीको पानी वितरणका लागि आयोजनाको अनामनगर पानी भण्डारण केन्द्रबाट दुई सय एमएमको थोक वितरण पाइप सिंहदरबारमा पठाइएको छ । सोही पाइपमा १५० एमएमको ६७० मिटर पाइप जडान गरी सिंहदरबारको पूर्वी गेटमा रहेको केयूकेएलको ट्याङ्कीमा पानी खसालिएको छ । त्यही ट्याङ्कीबाट सिंहदरबारमा पानी वितरण सुरु गरिएको हो । गोरखापत्र दैनिकबाट
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
