मलेसिया । रुकुम पश्चिमका चार जनासहित पाँच नेपाली मलेसियामा अलपत्र परेका छन् । वैदेशिक रोजगारीका लागि गएको कात्तिकमा मलेसिया आएका उनीहरू अलपत्र परेका हुन् ।
रुकुम पश्चिमको चौरजहारी नगरपालिका ४ का इन्द्रबहादुर ओली, टीकाराम भण्डारी, चौरजहारी नगरपालिका ११ का टेकबहादुर केसी र सुनिल शाह, सुनसरीको बराहक्षेत्र नगरपालिका ९ का सन्देश राई अलपत्र परेका हुन् ।
मलेसियामा आफूहरू अलपत्र अवस्थामा रहेको बताउँदै इन्द्रबहादुर ओलीले उद्धारका लागि अपिल गर्नुभएको छ । उहाँले पाँचै जनालाई कम्पनीले एक हप्तादेखि खानासमेत नदिएको बताउनुभयो ।
नेपालबाट पठाउने कम्पनीले क्लिनरको काममा भन्दै आफूहरूलाई पठाएको भन्दै ओलीले मलेसियामा भने आफूहरूलाई जङ्गलको काममा लगाएको बताउनुभयो । असाध्यै अप्ठ्यारो अवस्थाको काममा लगाएपछि आफूहरू काम गर्न नसक्ने अवस्थामा पुगेको उहाँले जनाउनुभयो । आफूलाई नेपालको एजेन्ट र कम्पनीले झुक्याएर सम्झौतापत्रमा हस्ताक्षर गर्न लगाएको कुरा मलेसिया पुगेर मात्र थाहा भएको ओलीको भनाइ छ ।
‘अर्कै काम दिनपर्यो भन्दा कम्पनीले हामीलाई निकालिदियो । के खाने, कसरी बाँच्ने हामीलाई समस्या भयो’, मलेसियाबाट सम्पर्कमा आउनुभएका ओलीले गुहार माग्नुभयो, ‘हामीलाई कि काम गर्ने कि घर पुग्ने वातावरण मिलाइ दिनुपर्यो ।’
ईलाईट ह्युमन रिसोर्स कम्पनीले ग्लोबल ईन्टरनेशनल म्यानपावरमार्फत मलेसियाको नेगिरी सिम्बिलिन भन्ने ठाउँमा रहेको पिआरएस फरेस्ट म्यानेजमेन्ट कम्पनीमा उनीहरूलाई पठाएको थियो ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
