कोरियामा गाडी चलाउन गएका नेपालीले आफैँ बनाए ब्याट्रीबाट चल्ने गाडी

पोखरा । रोजगारीका क्रममा दक्षिण कोरिया पुगेका म्याग्दीको बेनी नगरपालिका–६ का सुजन केसीले ब्याट्रीबाट गुड्ने गाडी निर्माण गरेका छन् । पाँच महिनादेखि निरन्तर गरेको कोसिसपछि उनले चारपाङ्ग्रे गाडी बनाउन सफल भएका छन् ।

विद्युत चार्ज गरेर चलाउन सकिने उक्त गाडीमा चारवटा ब्याट्री जडान गरिएका छन् । केसीका अनुसार उक्त गाडी तीनदेखि चार घण्टा विद्युत चार्ज गरेपछि ४० देखि ५० किलोमिटरसम्म चलाउन सकिन्छ ।

Advertisement

‘कोरियामा विगत ६ वर्षदेखि गाडी चलाउँदै आएको थिएँ, गाडी बिग्रिएमा आफै मर्मत गर्थें । म आफै गाडी बनाउन सक्छु कि भनेर पाँच पटक प्रयास गर्दा अहिले गाडी बनाउन सफल भएँ’ केसीले भने । केसीले बनाएको गाडीमा दुई वटा इन्जिन जडान गरिएका छन् । दुई वटा इन्जिन भएपछि गाडी सहजै गुड्ने उनको भनाइ छ ।

गाडी बनाउने तरिका युट्यूबमा हेरेर सिकेको उनले बताए । पाँच महिनाको प्रयासपछि आफूलाई सफलता हासिल भएको उनको भनाइ छ । ‘गाडीको अगाडिको भागमा दुईजना बस्न मिल्ने सिट छ । पछाडिको भागमा ५०० केजीसम्म सामान बोक्न मिल्छ’ केसीले भने ।

आफैले गाडी बनाएर गुडाउँदा निकै खूशी मिलेको केसीले बताए । ‘गाडी गुड्ने भएको छ, अब स्ट्रक्चर जडानको काम बाँकी छ’ केसीले थपे । “गाडी बनाउने पहिलादेखिकै रहर थियो, धेरै कोसिस गर्दा सफल भएँ ।” वातावरण मिलेमा नेपाल फर्किएर गाडी बनाउने काम गर्ने उनले बताए । उनका अनुसार गाडी बनाएर चलाएको देखेर कोरियामा भएका र नेपालमा भएका आफन्त, साथीभाइ र इष्टमित्रले विभिन्न माध्यमबाट बधाई दिइरहेका छन् । गोरखापत्र अनलाइनबाट

More News last news
Loading...