काठमाडौँ । आज कात्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशी । वर्षमा पर्ने २४ वटा एकादशीमध्ये महत्त्वपूर्ण एकादशीको रूपमा हरिबोधिनी एकादशीलाई लिइन्छ ।
त्यसैले यसलाई बोलीचालीको भाषामा ठूली एकादशी पनि भनिन्छ । क्षीर सागरमा चार महिलनाअघि सुतेका भगवान् विष्णु आज जागा हुने भएकाले यसलाई हरिबोधनी एकादशी वा प्रबोधिनी एकादशी पनि भनिन्छ । संस्कृतमा ‘बोधन’ भन्नाले उठाउनु भन्ने अर्थ हुन्छ । त्यसैलै भगवान् हरिलाई उठाउने तिथि भएकालाई यस दिनलाई हरिबोधिनी एकादशी भनिएको हो ।
कात्तिक शुक्ल एकादशीमा पर्ने यस हरिबोधिनी एकादशीमा व्रत र भगवान् विष्णुको उपासना गर्नाले एक हजार अश्वमेध यज्ञ गरे बराबरको फल पाइने कुरा पद्म पुराणको उत्तरखण्डमा बताइएको छ । गरुड पुराणअनुसार यस महिनामा एउटा मात्र तुलसी पत्र भगवान् विष्णुलाई चढाउँदा पनि १० हजार गाई दान गरे बराबरको फल मिल्नेछ ।
आज उपत्यकाका चार नारायण भनिने भक्तपुरको चाँगुनारायण, ललितपुरको विशङ्खुनारायण, काठमाडौंको शेषनारायण र इचङ्गुनारायणमा विशेष मेला लाग्ने गर्छ । साथै काठमाडौंमा रहेको बूढानीलकण्ठको मन्दिरमा पनि विशेष मेला लाग्छ।
हरिशयनी एकादशीको दिन घरघरमा रोपिएको तुलसीलाई आज विशेष पूजा गरी विवाह गरिदिने परंपरा छ । आजको दिन घरघरमा तुलसीको मठलाई गोबर, माटोले लिपपोत गरी सेतो, रातो, पहेँलो वस्त्र तथा फूलमालाले सिँगारेर भगवान् विष्णुको प्रतीकको रूपमा निगालो गाडी तुलसीको विवाह गरिन्छ।
भगवान् विष्णु प्रशन्न हुने विश्वासका साथ आज फलाहार मात्र लिई र राती जाग्राम बसेर हरि नाम संकीर्तन गर्ने प्रचलन रहेको छ । भोलिपल्ट द्वादशीको दिन तुलसीको विशेष पूजा गरेर हवन गरी चतुर्मासभर भगवान् विष्णुको रूपमा पूजा गरिएको तुलसीको विसर्जन गरिन्छ ।
हरिशयनी एकादशीदेखि आज अर्थात् हरिबोधिनी एकादशीसम्मको चार महिनासम्म तुलसीको व्रत गरी विशेष पूजा हुन्छ । साथै, यो समयमा विवाह, व्रतबन्ध जस्ता माङ्गलिक कार्यसमेत गरिँदैन।
विवाह, व्रतबन्ध जस्ता माङ्गलिक कार्यहरू पनि आजदेखि खुला हुने गर्छन् अर्थात् ज्योतिषीय रूपमा त्यस्ता कार्यका लागि मुहूर्त निस्किन्छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
