बुटवल । राष्ट्रियसभामा रिक्त एक पदका लागि लुम्बिनी प्रदेशमा उपनिर्वाचन शुरु भएको छ। माओवादी केन्द्रबाट विजयी अर्घाखाँचीका चन्द्रबहादुर खड्का एमाले प्रवेश गरेपछि पार्टीले कारबाही गर्दा रिक्त भएको पदमा उपनिर्वाचन गरिएको हो।
प्रदेश राजधानी दाङको कर्मचारी मिलन केन्द्रमा बिहान नौ बजेदेखि मतदान जारी छ। मतदाताहरु दूरी कायम गरी मतदान केन्द्रमा लामबद्ध भएका छन्।
निर्वाचन कार्यालयका सूचना अधिकारी गेहेन्द्र कुँवरका अनुसार बिहान साढे नौ बजेसम्म मुख्यमन्त्री शंकर पोखरेलसहित ५८ जनाले मतदान गरेका छन्।
मतदानको समय दिउँसो ३ बजेसम्म निर्धारण गरिएको र मतदान सकिएलगत्तै गणना शुरु हुने कुँवरले बताए। प्राविधिक समस्या नआए आजै मतपरिणाम सार्वजनिक हुने उनले बताए।
राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा दुईजना उम्मेदवार छन्। कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका तर्फबाट दृगनारायण पाण्डे र एमालेका तर्फबाट चन्द्रबहादुर खड्का प्रतिस्पर्धामा छन्।
उपनिर्वाचनमा लुम्बिनी प्रदेशसभा सदस्य ८३ जना तथा लुम्बिनी प्रदेशअन्तर्गतका पालिका प्रमुख र उपप्रमुखहरु २१७ गरी जम्मा ३०० जना मतदाता छन्।
जनता समाजवादी पार्टी नेपालले कारबाही गरेर पद गए पनि पछि सर्वोच्च अदालतको आदेशबाट पुनर्बहाली भएका कल्पना पाण्डे, सन्तोषकुमार पाण्डेय, सुमन शर्मा रायमाझी र विजयबहादुर यादवलाई पनि निर्वाचन आयोगले पूरक मतदाताको रुपमा मताधिकार दिएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
