निकै सहयोगी र सर्वप्रिय हुन्छन् यी राशिका व्यक्ति, तपाईको कुन ?

काठमाडौँ । ज्योतिषशास्त्रको आधारमा राशिअनुसार व्यक्तिको शरीर, स्वभाव, रुचि, गुण, दोष, शुभ, अशुभ आदिबारे व्याख्या गरिएको हुन्छ।

राशिअनुसार व्यक्तिको रुचि र दैनिक जीवनमा प्रयोग गर्ने रङहरु फरक फरक हुने गर्दछ। मेष राशिलाई मन परेको रङ वृष राशिलाई मन नपर्न सक्छ अथवा राशिको अनुसार व्यक्तिको स्वभाव फरक हुन्छ।

Advertisement

लालकिताव तथा अन्य ज्योतिषशास्त्रको किताबमा उल्लेख भए अनुसार व्यक्तिको स्वभाव र राशि अनुसार मन पर्ने रङ यहाँ प्रस्तुत गरिएको छ। साथै राशिसँगै न्वारानको नामको सुरुको अक्षर पनि दिइएको छ।

मेष राशिः मेष राशि भएका मानिसहरु चञ्चल,धार्मिक प्रवृत्ति, आँटी, शाहसी तथा पराक्रमी, राज्यबाट सम्मानित, स्त्री साथिहरु धेरै भएका, दानी, पानीदेखि डराउँने स्वभावको हुन्छन्।

यस राशिको व्यक्तिलाई मंगलबार शुभ र बुधबार अशुभ हुन्छ। प्राय रातो तथा कफि कलर मन पराउँने यिनीहरुलाई रातो कपडाको प्रयोग तथा धारणले सुहाउँने गर्दछ। त्यसैगरी मंगलको पूजापाठ र जप गर्नुका साथै मंगलबार गणेश एवम् हनुमानको पूजा गर्नु लाभदायक हुन्छ।

वृष राशिः वृष राशि भएका व्यक्तिहरु भोगी, दानी, पवित्र, कुशल, सत्वसम्पन्न, बलवान, धनवान, भोगविलासरत, तेजस्वी हुन्छन्। स्त्रीहरूको प्यारो, पक्का मित्रता राख्ने, मध्यावस्था र वृद्धावस्थामा विशेष सुख पाउँने हुन्छन् । यस राशिका लागि कला र सङ्गीत लाभदायक हुन्छ।

यस राशिको व्यक्तिहरुले सेतो र खैरो रङको कपडा मन पराउँदछन् । खैरो,सेतो तथा लाईट रङको प्रयोग गर्नाले कन्फिडेन्ट पावरमा वृद्धि हुने, अरुलाई सजिलै प्रभावित पारी काम लिन सकिनेछ।

मिथुन राशिः मिथुुन राशि भएका व्यक्तिहरु मृदुभाषी, चञ्चल दृष्टि, दयालु, कामुक, सङ्गीतप्रेमी, कण्ठरोगी, यशस्वी, धनी, गुणवान गोरो वर्णको, कार्यकुशल, बोल्न सिपालु, कम बोल्ने, बुद्धिमान, दृढसङ्कल्प र न्यायप्रिय हुन्छन्।

यस राशिवाला व्यक्तिका धेरै व्यवसाय हुने वा व्यवसायमा परिवर्तन भइरहने हुन्छ । यस राशिको मालिक बुध भएकोले हरियो रङका कपडा र हरियो रङको वस्तुहरु शरीरमा धारण गर्नाले समयमा कामहरु बन्ने, शरीरमा पोजेटिभ तरङगहरु प्रवाह हुने हुन्छ।

कर्कट राशिः कर्कट राशिका व्यक्तिहरु जाँगरिलो, धनी, धार्मिक, शूरो, गुरुको प्रिय, शिरको रोगी, अति बुद्धिमान, दुर्बल शरीरवाला, सबै कामको ज्ञाता, प्रवासी, भयड्ढर क्रोधी, दुर्बल, दुःखी, असल मित्रवाला, घरमा रुचि नराख्ने र कुटिल हुन्छन्। सर्वसम्मत्तिले काम गर्नु राम्रो मान्दछन्।

साहित्य, संगीत र कलामा रुचि राख्दछन्। तरल पदार्थको व्यापारबाट फाइदा गर्दछन्। यस राशिको मालिक चन्द्रमा भएकोले सेतो कलरको कपडा तथा सेतो रङका सामानहरु प्रयोग गर्दा यिनिहरुलाई फाइदा हुन्छ। आफु बस्ने घरमा सेतो तथा खैरो सामानहरु प्रयोग गरेर कोठा सजाउँदा लाभ मिल्दछ।

सिंह राशिः सिंह राशिका व्यक्तिहरु क्षमाशील, काममा सक्षम, मद्य९मांसमा सदैव आशक्त, देशमा भ्रमण गर्ने, असल मित्र वाला, विनयशील, शीघ्र क्रोधित हुने, मातापिताको प्रेमी, व्यसनी र प्रसिद्ध हुन्छन्। सदैव उच्च पद प्राप्तिमा लालायित हुने, राजनीतिमा चासो राख्ने तथा घमण्डी स्वभावका हुन्छन्।

यस राशिलाई आइतबार शुभ र मंगलबार अशुभ हुन्छ। यस राशिको मालिक सूर्य भएकोले शरिरमा रातो र कफि रङको कपडाहरु लगाउँदा सुहाउँने तथा रातो रङको पोजेटिभ तरङग प्रवाह गर्दछ।

कन्या राशिः यस राशिका व्यक्तिहरु विलासी, सज्जनहरूलाई आनन्दित पार्ने, सुन्दर, धर्मले परिपूर्ण, दानी, निपुण, कवि, वैदिक मार्गको अनुगामी, सर्वप्रिय, गीत, संगीत र नृत्यको धूनमा आशक्त, प्रवासी र स्त्रीबाट दुःखी हुन्छन्। त्यसैगरी महिलाको जस्तो स्वभावको, सुखी, कोमल शरीर र मनवाला, शास्त्रज्ञ, धार्मिक, हुन्छन्।

यस राशिको मालिक बुध भएकोले हरियो सामानको व्यापार व्यवसाय गर्नाले फाइदा हुने हुन्छ । शरीरमा प्रायजसो हरियो कपडा धारण गर्नाले र हरियो सामान बोकीराख्नाले राम्रो हुन्छ।

तुला राशिः तुला राशिका व्यक्तिहरु अकारण क्रोध गर्ने, दुःखी, मधुरभाषी, दयालु, चञ्चल नेत्रवाला, अस्थिर धनवाल, घरमै पराक्रम देखाउने, व्यापारमा चतुर, देवपूजक, मित्रहरूप्रति दयालु, मित्रहरूको प्रिय र परदेशवासी हुन्छन्।

त्यस्तै धार्मिक, चतुर, बुद्धिमान, राजप्रिय, मिष्ठान्नप्रेमी, पितृसेवी, देवभक्त, गुरुभक्त, धनी, वाचाल, साहित्य र संगीतप्रेमी, युद्धप्रेमी, कृपालु र सङ्कठनप्रेमी हुन्छ।

यस राशिको मालिक शुक्र भएकोले सेतो र खैरो रङको वस्तुको धारण वा प्रयोगले शरीरलाई राम्रो गर्दछ। सेतो रङको धारणले शरीरमा पोजेटिभ उर्जा सञ्चार हुने भएकोले प्रगति पनि चाडै हुन्छ।

वृश्चिक राशिः वृश्चिक राशिका व्यक्तिहरु प्रायः बाल्यावस्थामै परदेशवासी, क्रूर स्वभावको, शूरो, पहेँलो नेत्र भएको, परस्त्रीमा आशक्त, अभिमानी, आफ्नो भाइबन्धुहरूप्रति निर्दयी, आफ्नो साहसले धन प्राप्त गर्ने, आफ्नै आमाप्रति पनि दुष्ट बुद्धिवाला, धूर्तता र चोरीको अभ्यास गर्ने हुन्छन्।

त्यसैगरी मंगलको पूजापाठ र जप गर्नुका साथै मंगलबार गणेश र हनुमानको पूजा गर्नु लाभदायक हुन्छ। रातो र कफि रङ मन पराउँदछन्। रातो र कफि रङ लगाएर बाहिर हिड्दा व्यक्तित्वमा निखारता आउँने तथा अरुले हेर्ने दृष्टिकोण पनि फरक हुन्छ।

धनु राशिः धनु राशिका व्यक्तिहरु शूरो, सत्य बुद्धिले युक्त, सात्विक, मानिसको हृदयलाई आनन्दित पार्ने, शिल्पकला जान्ने, धनले युक्त, सुन्दर स्त्रीवाला, अभिमानी, चरित्रवान, आकर्षक बोलीवचनको, तेजस्वी र केही मोटो शरीरको हुन्छन् । बिहीवार क्रयविक्रय गर्नाले विशेष लाभ हुन्छ।

यस राशिको मालिक वृहस्पति भएकोले पहेँलो र रातो रङको प्रयोग गर्नाले शरीरमा सकारात्मक उर्जाहरु प्रवाहित हुन्छ । कोठा तथा घरमा पनि पहेलो रङ लगाएको तथा पहेँलो रङले सामानहरु सजाउँदा राम्रो हुन्छ ।

मकर राशिः मकर राशिका व्यक्तिहरु आफ्नो कुलमा कमजोर, स्त्रीहरूमा वशीभूत, विद्यामान, परनिन्दक, संगीत पे्रमी, सुन्दर स्त्रीहरूको प्रियपात्र, पुत्रयुक्त, माताको प्रिय, धनी, त्यागी, दयालु, भाइहरूले युक्त र सुखका लागि चिन्तनरत हुन्छन्।

यस राशिको मालिक शनि भएकोले मकर राशिका व्यक्तिहरुलाई कालो र खैरो सामानको प्रयोग गर्दा राम्रो हुन्छ। आफूले प्रयोग गर्ने कपडा वा सामान कालो भयो भने सकारात्मक सोचाई आउँदछ।

कुम्भ राशिः कुम्भ राशिका व्यक्तिहरु दानी, अल्छी, कृतज्ञ, धनी, वाहन एवम् अन्य भौतिक साधनले सम्पन्न, शुभ दृष्टि वा सधैँ कोमल स्वभावको, धन र विद्याका लागि प्रयत्नशील, पुत्रयुक्त, स्नेहयुक्त, यशस्वी, आफ्नै शक्तिले धनको उपयोग गर्ने, उदार र निर्भीक हुन्छन्।

यस राशिको स्वामी पनि मकर राशिको जस्तै शनि भएकोले कालो तथा घुरमैलो सामानको व्यापार व्यवसायबाट मनग्ये धन आर्जन गर्दछन्। आफूले पनि कालो र खैरो कपडा धारण गर्नाले सकारात्मक सोचाई आई जीवनमा राम्रो प्रगती गर्दछन्।

मीन राशिः मीन राशिका व्यक्तिहरु गम्भीर चेष्टा गर्ने, शक्तिशाली, बोल्नमा चतुर, मानिसहरूमा श्रेष्ठ, क्रोधी, कृपण, ज्ञानसम्पन्न, श्रेष्ठ गुणहरूले युक्त, कुलमा प्रिय, नित्य सेवा भाव राख्ने, शीघ्रगामी, नृत्य(गीतादिमा कुशल, शुभ दर्शनवाला र भाइबन्धुहरूको प्रेमी हुन्छन्।

त्यस्तै धनी, मान्य, नम्र, भोगी, प्रसन्न, मातापिता र देवार्चनमा तत्पर, उदार, सुगन्धित वस्तुको व्यवहार गर्ने, जितेन्द्रिय, गुणी, निर्मल बुद्धियुक्त, शस्त्रविद्याको ज्ञाता, शत्रुजयी, निष्कपटी, खरो स्वभावको, धर्मानुरागी, साहित्य र संगीतप्रेमी आदि लक्षणयुक्त हुन्छ।

राशि स्वामी बृहस्पती भएकोले मीन राशि भएका व्यक्तिहरुले प्रायजसो सधैँ पहेलो वस्तुको प्रयोग गर्नाले सकारात्मक उर्जा शरीरमा प्रवाह भई जीवनमा राम्रो प्रगती गर्दछन्।

More News last news
Loading...