२०७८ मा शक्तिशाली बन्दै यी ५ राशी, कुनलाई कस्तो ? हेर्नुहोस् वार्षिक ग्रहफल

यो वर्ष तपाइहरुको ग्रहफल कस्तो छ ? ग्रहको अशुभ फललाई कसरी शुभ बनाउन सकिन्छ ? भन्ने विषयमा हामीले चर्चा गर्दैछौँ । यो वार्षिक राशिफल ज्यो. पण्डित वैद्यराज दीपक सुवेदीले तयार पार्नुभएको हो । नयाँ वर्ष २०७८ साल केही राशिका लागि निकै शुभ छ भने केही राशिका लागि मध्यम र केहीका लागि खराब देखिएको छ। नयाँ वर्षसँगै केही राशिको भाग्य पनि चम्किने राशिफलले देखाएको छ। नयाँ वर्ष २०७८ सालमा वृष, मिथुन, कन्या, वृश्चिक, मीन राशिको भाग्यको ढोका खुल्दैछ भने केही राशिको भाग्य मिश्रित देखिएको छ।  अब हेरौँ १२ राशिको वार्षिक राशिफल ।

मेष राशी

Advertisement

मेष राशि हुनेहरूका लागि नयाँवर्ष वि.सं. २०७८ साल पूर्वाधको तुलनामा उत्तरार्ध तसै अनुकूल रहने देखिएको छ । वर्षको पहिलो खण्डमा केही अभाव र संघषका बाबजुत कुलिन प्रख्याति बढ्ने छ । पारिश्रमिक कार्यमा सफलता मिल्ने छ । वाणिदोषको गोचर योग भएकोले बोली व्यवहारमा भने संयम अप्नाउनु बुद्धिमानी हुनेछ ।

धेरैजसो पक्षमा साविक भन्दा बढी मेहनत गर्नपर्ने, कार्यक्षेत्र, व्यवसाय, राजनीति, समाज सेवा, पेशागत कार्य एवं नोकरी आदिमा ग्रहले सकारात्मक प्रभाव देखाउन अल्लि सकिरहेको छैन । गरिएका कारोबार उल्टिनसक्ने भय पनि देखिएकोले काम भयो भनेर ढुक्क नहुनु राम्रो हुनेछ । गोपनीयताको पनि ख्याल पुर्याउनु जरुरी देखिन्छ ।

पशुचौपायामा हानी गर्ने ग्रह छन् । र पनि खोटी दोषी पशुबाट तसै फाइदा गर्न सकिने छ । गाडी घोडा आदि पक्षमा पनि गोचर ग्रहले त्यति सपोट गरेको छैन । पारिवारिक समन्वयमा ह्रास आउनसक्ने छ । पार्टनरसिपका कामकार्यहरु पनि प्रभावित हुने देखिन्छ । यी कुराहरुमा विचार पुर्याएर संबन्धित कार्य योजना तर्जुमा गर्नु बुद्धिमानी हुनेछ । नाककानघाँटी, अर्श (पाइल्स), लिभर जस्ता स्वास्थ्य समस्याले दुःख दिनसक्ने छ । मान्यजन तथा पारिवारिक कष्टको संभावना पनि देखिन्छ ।

वर्षको मध्यतिरबाट अध्ययनमा थप सुधार आउने छ । ग्रह–उपचारका उपायहरु अवलम्बन गरी अघि बढ्नाले केही विशेष महत्त्वपूर्ण काममा सफलता पाउन सकिने छ । इष्टदेवको साधना, गुरुजनको आर्शिवाद, गो सेवा, माता बंगलामुखी एवं शनि महाँकाल सँगै पवनपुत्र हनुमान र भैरवदेवको दर्शनभक्ति, उपाशना, आराधना तथा दीनदुःखी श्रमिक वर्गलाई सहयोग गर्नु अनिष्ट ग्रहको शान्तिदायक हुनेछ ।

वृष राशी

वृष राशि हुनेहरूका लागि वि.सं. २०७८ सालको पूर्वाध अवरोधका बाबजुत केही विशेष व्यवसायिक एवं धार्मिक कार्यमा सफलता मिल्ने खालको रहेको छ । आफूले सक्ने सम्मको ग्रह उपचार जन्य उपाय अपनाउनाले नोकरीमा पदोन्नति प्राप्त गर्नसकिने छ । नोकरीको पर्खाईमा रहेकाले जागिर पाउन सकिने छ । कर्मयोगीहरुलाई आकस्मिक लाभ मिल्ने छ । कृषिजन्य पक्षमा पनि ग्रह गोचरको प्रभाव अनुकूल रहनाले किसानलाई उपलब्धि वृद्धि हुनेछ । अध्ययनमा सफल हुन सकिने संभावना देखिएकाले विद्यार्थी हरुले प्रयत्न बढाउनु उचित हुनेछ । कुनै नयाँ कार्यको थालनी हुनेछ । राजनीति समाजसेवा आदिमा पनि आंशिक सफलता मिल्ने देखिन्छ ।

पिनाश, माइग्रेन आदि शिररोग, गर्भाशयको समस्या, अर्श अर्थात पाइल्स रोग जस्ता स्वास्थ्य समस्याले दुःख दिनसक्ने भय छ । कतिपयलाई कपट प्रेमको फन्दामा परिनसक्छ ख्याल गर्नुहोला । बाहिरी तथा आन्तरिक घाउ खटिरा, ज्वरो लगायतका स्वास्थ्य समस्याका संकेत देखिन सक्छ । मधुमेह, उच्च रक्तचाप तथा हृदय रोग, दम आदिका दीर्घरोगीले विशेष सावधानी अप्नाउनु बुद्धिमानी हुनेछ ।

वैदेशिक यात्राको पखाईमा रहनेका लागि संघर्षका बाबजुत केही सफलता मिल्ने र धार्मिकयात्रा जन्य कार्य पनि हुने संभावना रहेको छ । विवाह ब्रतबन्धादि माङ्गलिक कार्यको आयोजना हुनसक्ने छ भने कुटुम्ब तथा पारिवारिक सदस्य बढ्ने छन् । आफ्नो विवाहको हकमा भने अल्लि सजग हुनुपर्ने गोचर प्रभाव रहेको छ । दाम्पत्य कष्ट एवं असमझदारीको संभावनालाई गोचरग्रहले संकेत गरेको हुनाले संबन्धित पक्षमा संयम गरेको उचित हुनेछ ।

महादशा आदिमा प्रतिकूल तथा अकारक दशा चल्नेहरुले बढी सावधानी अपनाउनु बुद्धिमानी हुनेछ । ग्रहगोचर प्रतिकूलतालाई मनन् गरी सकारात्मक सोचका साथ निस्कामकर्म गर्ने, ध्यानधारणा तथा इष्टदेवका साधना बढाउने, महावीर पवनपुत्र हनुमान र भैरव देवको उपाशना गर्ने गर्नु फापकर हुनेछ ।

मिथुन राशी

मिथुन राशिका लागि वि.सं. २०७८ साल शुरुमा आक्रोश एवं तथाव र दौडधूपको बाबजुत केही काम बन्ने र राहत मिल्ने छ । अप्रत्यासित रुपमा व्यवसायिक लाभ एवं केही उपलब्धि मिल्ने छ । समय एवं अवसरको सदुपोग गरी बढी लाभ उठाउनु बुद्धिमानी हुनेछ । रपनि कुनै भइसकेको कारोबार उल्टिनसक्ने छ ।

वर्षको पूर्वाधको अन्य समय अल्ली संघर्षकर एवं विपरित प्रतित् भइरहेको छ । आफ्नै स्वास्थ्यमा समस्या, मान्यजनलाई कष्ट तथा रोग शोक आदिको भय छ । महादशा अन्तर्दशा योगिनीदशामा प्रतिकूल दशा चल्नेहरुले विशेष सावधानी अपनाउनु उचित हुनेछ । कुसंगतको चक्रव्यूह नपर्ला भन्न सकिन्न । नहुने काममा मन जाने र नोक्सानी भइसकेपछि बल्ल होस खुल्ने छ । गुरुजन, मान्यनजको अर्ति नमान्दा पछि पछुतोमा परिने छ । जालसाँची तथा किर्तेकार्यमा फँसाउन खोज्नेहरुको षड्यन्त्रमा फँसिन सकिने छ होसियारी अप्नाउनु होला । मुद्धा मामिलाको भय पनि छ । ग्रहले ऋणवृद्धि गराउन खोज्दैछ, गरिने कामकार्यमा निकै विचार पुर्याएर गर्नुहोला ।

धर्माचरण एवं इष्टसाधनाको बलले कतिपय ग्रह गोचर जनित अनिष्ट फललाई टार्न पनि सकिने हुनाले उचित उपाय अवलम्बन गर्नु उचित हुनेछ । जसबाट केही शुभफल पनि प्राप्त गर्न तथा आकस्मिक लाभ गर्न पनि सकिने छ ।

वर्षको उत्तरार्धबाट विद्या क्षेत्रमा केही सुधारको अपेक्षा गर्न सकिन्छ । अन्यपक्षमा पनि क्रमिक रुपमा केही सुधार भएर जानेछ । रोगीलाई उपचार लाग्न थाल्ने छ । ठूला अड्चनहरु हट्दै जाने छन् । व्यापार व्यवसाय एवं नोकरी आदि पेशागत क्षेत्रमा पदप्रतिष्ठा, आय–आम्दानी बढेर जाने छ । विवाह योग्यहरुका लागि वैवाहिक सम्बन्ध जोडिने छ । तर, विशेष ठानिएको काममा अल्झन आउनसक्ने देखिएकोले ग्रह उपचारको उपाय अप्नाउनु उचित हुनेछ ।

यो वर्ष विद्यार्थीले माता सरस्वतीको भक्ति उपाशना र अन्यले अनिष्ट फललाई न्यून गर्न हतोत्साही नभइ इष्टदेवको भक्ति तथा साधनालाई बढाउँदै महाकाल शनि मृत्युञ्जयसँगै पवनपुत्र हनुमान र माता बंगलामुखी एवम् कुलदेवताको साथमा भैरवदेवको श्रद्धाभक्ति, जपपाठ, स्तुति, गर्नु हितकर हुनेछ ।

कर्कट राशी

कर्कट राशि हुनेहरूका लागि वि.सं. २०७८ सालको पूर्वाध वरोधका बाबजुत यात्रा, व्यापार, व्यवसाय आदिमा प्रगति तथा सफलता मिल्ने खालको रहेको छ । कर्मयोगमा अल्लि बढी जोड गरेर केही अपेक्षित काम कार्यमा सफलता प्राप्त गर्नसकिने छ । ग्रह उपचारको उपाय गरेर अघि बढेको खण्डमा विदेश गमनको अभिलाषीलाई बाटो खुल्ने छ । नयाँ उद्यमको दिशामा पनि केही उपलब्धि हात लाग्ने छ।

अध्ययनमा तसै सुधार आउने छ र पनि विषय परिवर्तनको ईच्छा बढ्ने छ । साविक भन्दा बढी तयारी पूरा गरेको खण्डमा वेरोजगारले रोजगारी पाउन सकिने छ । अल्लि बढी जोड गर्नाले जागिरेलाई पदोन्नति मिल्नेछ । राजनीति समाजसेवा आदिमा केही आलोचना तथा अपयशको बाबजुत आंशिक सफलता मिल्ने छ । किसनका लागि पनि यो वर्ष तसै लाभकर रहने छ ।

वर्षको उत्तरार्ध अल्लि विपरित प्रतित भइरहेको छ । छलकपटको भय रहेकोले विचार पुर्याएर मात्रै वैवाहिक सम्बन्ध गास्नु उचित हुनेछ । दाम्पत्य सम्बन्धमा कष्ट एवं शंका–आशंका उब्जनसक्ने सम्भावना छ । चोटपटक दुर्घटना एवं घाउ खटिराको भय पनि देखिएकोले सावधानी पूर्वक संबन्धित कार्य संपादन गर्नु उचित हुनेछ ।

आफ्नो स्वास्थ्यमा पनि प्रतिकूलता आउने भय छ भने मान्यजनमा कष्ट हुने कुरालाई पनि खगोलीय ग्रह गोचरको स्थितिले लक्षित गरिरहेको छ । अनिष्ट ग्रहफललाई हटाउन तथा शुभफललाई बढाउन कर्कट राशिले यो वर्ष इष्टदेवको साधना बढाउनुका साथै भगवान महावीर हनुमानको वर्ष भरिनै र वर्षको उत्तरार्धबाट माता बंगलामुखीको स्तुति आराधना गर्नु फापकर हुनेछ ।

सिंह राशी

सिंह राशिका व्यक्तिहरुको लागि वि.सं.२०७८ को साल वर्षको पहिलो खण्ड मध्यम देखिएको छ। कामकार्य संपादन तथा जन व्यवहारमा सजग हुनु उचित हुनेछ । कैफियत कर्मतर्फ पनि चेष्टा बढ्नसक्ने र पछि पछुतो हुने भय रहेकोले विशेष संयम अपनाउनुपर्ला । कामकार्यमा साविकभन्दा बढी संघर्ष गर्नुपर्ने देखिन्छ । गुरुजनको आर्शिवाद लिएर अघि बढेको खण्डमा बढी जोड गरिएको काममा केही अवरोधका बाबजुत केही सफलता पनि प्राप्त गर्नसकिने छ ।

साथीभाइ, साँध सँधियार, छरछिमेकका साथै पारिवारिक द्वन्द, मुद्धामामिला आदिको सामना गर्नपर्ने र बढी सास्ती उठाएर विजयी भइने छ । स्वास्थ्यमा ग्रन्थीलगायतका रोगले दुःख दिने छन् । घर एवं मावलीतर्फका मान्यजनलाई कष्टपर्ने प्रवल संभावना छ । तरिका नमिल्दा गरिएका पुरुषार्थ खेरा जानसक्ने भएकोले उचित ग्रहउपचारका उपाय अवलम्बन गरी अघि बढ्नु बुद्धिमानी एवं उपलब्धिकर हुनेछ । महादशा आदिमा प्रतिकूल दशा चल्नेहरुलाई दाजुभाइमा कष्ट तथा विवाद, पारिवारिक असमझदारी, कार्यक्षेत्रमा अवरोध, आलोचना, द्वन्द एवं कामकार्यमा विलम्बता जस्ता प्रतिकूल स्थितिको सामना गर्नपर्ने छ ।

वर्षको उत्तरार्धतिरबाट अध्ययनमा गोचर–ग्रहको सकारात्मक प्रभाव बढ्ने हुनाले विद्यार्थीले पढाईमा बढी समय दिनु उचित हुनेछ । रोकिएर रहेको अध्ययनलाई पूरा गर्न सकिने छ । उद्यम व्यावसायमा उन्नति प्रगति हुनजाने छ । खेलकुद आदि प्रतिस्पर्धाजन्य कार्यमा सफल भइने छ । राजनीति समाजसेवा आदिमा पनि सफलता मिल्ने छ । वैदेशिक यात्राको पर्खाइमा रहनेहरुका लागि पनि समय अनुकूल रहने छ । विवाहयोग्य युवायुवतीको वैवाहिक सम्बन्ध जोडिने छ । विवाहितहरुको दाम्पत्य मधुरता बढ्ने छ ।

सिंह राशिका व्यक्तिहरुले यो वर्ष भरी भैरवदेवको र वर्षको पूवाधसम्र्म माता बंगलामुखी र साथमा पितृ एवं कुलदेवताको सेवा आराधना र विद्यार्थीहरुले माता सरस्वतीको उपाशना गर्नु हितकर हुनेछ ।

कन्या राशि

कन्या राशिका लागि वि.सं. २०७८ सालको पूर्वार्ध अनुकूल देखिएको छ । घर–परिवारमा समझदारी बढ्ने छ । अध्ययन, अध्यापन एवं लेखन आदिमा सफलता मिल्नेछ । सन्ताना भिलाषीलाई केही कष्टको बाबजुत सन्तान प्राप्ति हुनेछ । केही द्वन्दको बाबजुत छोराछोरीको तर्फबाट सुख एवं सन्तोष मिल्ने छ ।

गृह निर्माण हुने, जग्गाजमिन थपिने र रोजगारीको प्रतिक्षामा रहनेहरुलाई जागिर मिल्ने छ । जागिरेलाई जागिरमा पदोन्नति हुनेछ । संघर्ष तथा केही अवरोधका बाबजुत धार्मिक एवं आध्यात्मिक कार्यमा आंशिक सफलता मिल्ने छ । पशुचौपाया, कृषि फार्मिङ्ग आदिबाट लाभ मिल्ने छ । वैदेशिक यात्राका अभिलाषीहरुलाई समय अनुकूलप्रद रहेको छ । व्यापार व्यवसाय, उद्योगधन्दा तथा पेशाक्षेत्रमा स्तरोन्नति हुनजाने छ । उन्नति प्रगतिका कारण आर्थिक लाभ पनि हातपार्न सकिने छ ।

सामान्यतया दाजु–भाइबीच विवाद तथा क्लेश बढ्नसक्ने छ । धैर्यतापूर्वक कर्मयोगलाई जारी राख्नाले अपेक्षित कार्यमा सफलता मिल्ने छ । नीति, सिद्धान्तमा भने विचलन नआउला भन्न सकिन्न तसर्थ आफ्नो निष्ठामा अडान लिनु उचित हुनेछ । वर्षको उत्तरार्धबाट गोचरग्रहमा केही प्रतिकूलता थपिने छ, जसले गर्दा कामकार्य प्रभावित हुनेछन् । ग्रह उपचारका उपायहरु अवलम्बन गर्नु उचित हुनेछ । लिभर आदि पेटसम्बन्धी रोगको भय छ । उच्चरक्तचाप, मधुमेह तथा हर्मोनिक रोगका रोगीहरुले बढी सावधानी अप्नाउनु होला ।

यो वर्ष कन्या राशिका व्यक्तिहरुले इष्टदेवताको साथमा महावीर हनुमानको श्रद्धाभक्ति उपाशना आराधना गर्नु, विद्यार्थीलाई पाठ्य सामाग्री दान दिनु, गाईको सेवा गर्नु, मजदुरको सम्मान तथा सहयोगमा भूमिका निर्वाह गर्नु फापकर हुनेछ । वर्षको उत्तरार्धपछि माता बंगलामुखीको उपाशना र ब्रह्मज्ञानी गुरुको आशीर्वाद लिनु बुद्धिमानी हुनेछ ।

तुला राशि

तुला राशि हुनहरुका लागि वि. सं. २०७८ सालको वर्ष मिश्रित छ । केही पक्षमा संघर्ष एवं उथलपुथलप्रद पनि देखिएको छ । बढी आशा अपेक्षा एवं चाहना र आसक्ति गरेको काममा बढी सास्ती मिल्ने तर खासै महत्त्व नपाएको काम बनेर गर्जो टर्ने हुनेछ । पारिवारिक, छरछिमेक, समाज, सहकर्मी आदि पक्षमा ग्रहले विपरित प्रभाव गर्न खोजिरहेको हुनाले बढी साथ सहयोगको अपेक्षा नगर्नु सुखकर हुनेछ ।

केही विपरित गोचरग्रहको अवस्था रहेपनि सत् नछाड्ने र स्वकर्ममा रत् रहने तथा संयमपूर्वक बुद्धिले काम लिने कर्मयोगीहरूले संभावित खतिक्षतिलाई टार्न सकिने छ । निस्कामयोग सिद्धान्तलाई आत्मसात गर्दै कर्तव्यको पालना गर्नु उचित हुनेछ । हिम्मत नगिराई सकारात्मक सोँचको साथमा अघि बढ्नु तपाईको लागि बुद्धिमानी हुनेछ । दलालीकरणबाट बँचेर विदेश यात्राको प्रोसेस गर्नु अनुकूल रहनेछ ।

महादशा आदिमा अकारक तथा प्रतिकूल दशा चल्नेहरुलाई पारिवारिक कष्ट तथा रोग–शोकको भय छ । विपरित प्रभावले दाम्पत्य एवं प्रेम सम्बन्धको मधुरता घटाउनसक्ने छ । दैविक विपत्ति, व्यवहारिक एवम् व्यवसायिक समस्याहरू आइलाग्नसक्ने छन् । जग्गा तथा घरघडेरीको किनबेचमा फँसिने समय छ । सितिमिति कसैको भरोसा नगरेकै राम्रो हुनेछ । मुद्धामामिला पर्नसक्ने सम्मको ग्रहगोचर रहेकाले सावधानी अप्नाउनु उचित हुनेछ ।

सञ्चित धनको खर्च हुने जोखिम छ, पाइल्स, नाक,कान,घाँटीसम्बनधी रोग, लिभर एवं पाचनक्रियासँग सम्बन्धित उदर रोग आदिको भय छ । अन्य दीर्घ स्वास्थ्य समस्याको पनि भय रहन्छ नै । खाईपाई आएको सेवा सुविधाबाट च्यूत गराउन ग्रहगोचरले बल गरी रहेको हुनाले संबन्धित व्यवहार गर्दा निकै सावधानी अप्नाउनु बुद्धिमानी हुनेछ । कृषि एवं पशुचौपाया आदिमा ठूलो लगानी नगरेकै उचित हुनेछ ।

वर्षको उत्तरार्धबाट तसै सुविस्ता महसूस हुनेछ तर पूर्णरुपमा अनुकूल भन्न सकिन्न । ग्रह उपचारका उपायहरु अपनाएर अघि बढ्दा बढी सफलता हातपार्न सकिने छ । अध्ययनमा पनि अनकूलता बढ्ने छ । विवाह योग्य युवा–युवतीको विवाह बन्धनको योग जुर्ने देखिन्छ । पेशागत उन्नति बढ्ने छ ।

यो वर्ष तुला राशिका विद्यार्थीहरुले माता सरस्वतीको भक्ति स्तुति र अन्यले महावीर हनुमान, भैरवदेव र माता बंगलामुखीको आराधना गर्नु शुभदायक हुनेछ ।

वृश्चिक राशि

वृश्चिक राशि हुने व्यक्तिहरुका लागि वि.सं. २०७८ साल मध्ययम फलदायी वर्ष रहने छ । गोचर–ग्रह परिषद्मा केही ग्रहसदस्यहरु विपरित रहेकाले संघर्ष गरेर आंशिक उपलब्धि प्राप्त गर्न सकिने छ । प्रतिकूल ग्रहहरुको उपचारका उपाय गर्नाले उद्यम व्यवसायमा केही उन्नति गर्नसकिने छ ।

विरोधीहरुको अवरोधको सामना गर्न परिरहे पनि साहस र हिम्मतले साथ दिनेछ । सोचेजति मुल्याङ्कन भने हुनसक्ने छैन । होसियारीपूर्वक नबिराउने र नडराउने सिद्धान्तलाई आत्मसात गर्दै अगाडि बढ्नाले केही पुरुषार्थ गर्नसकिने छ । संघर्ष एवं द्वन्दका बाबजुत न्यायिक विजय मिल्ने छ । अध्ययन अध्यापन एवं लेखन क्षेत्र सामान्य रहने छ । कलाकारिता तर्फपनि केही उपलब्धि हाँसिल हुनेछ । कैफियत आम्दानी तर्फको चेष्टालाई संयम गरेको बुद्धिमानी हुनेछ ।

वर्षको उत्तरार्धबाट स्थिति अल्लि कठिन पनि बन्नसक्ने छ । दाम्पत्य जीवनमा शंका–आशंका थपिनसक्ने छ । कपट सम्बन्धको भय रहेकाले विवाह एवं प्रेम सम्बन्धमा सजग हुन जरुरी देखिन्छ । राजनीतिक भूमिका तथा सामाजिक प्रतिष्ठा अपडाउन रहने छ । कृषि, पशुचौपाया आदि क्षेत्र भने फस्टाउनाले लाभान्वित हुनसकिने छ ।

महादशा आदिमा प्रतिकूल तथा अकारक ग्रहको दशा चल्नेहरुलाई शिरशूल, माइग्रेन, मस्तिष्क पीडाको संभावना छ भने प्याङ्क्रियाज, मिर्गौला, थायराइड, पौरुष ग्रन्थी, हर्मोनिक डिस्ब्यालेन्स, गर्भाशय, हात, छाति एवं घाँटी आदिमा समस्याको पनि भय छ । घरपरिवार एवं दाजु–भाइबीचको सम्बन्ध टाढिनसक्ने देखिन्छ ।

यस वर्ष वृश्चिक राशिका व्यक्तिले भैरवदेव एवं छिन्नमस्ता देवी र माता बंगलामुखी एवं विद्यार्थीले माता सरस्वतीको उपाशना तथा दर्शनभक्ति गर्नु शुभकर हुनेछ ।

धनु राशि

धनु राशिको लागि वि.सं. २०७८ सालको वर्षको पूर्वार्ध तसै राहतप्रद रहने देखिन्छ । र पनि बढी आसक्ति गरेको विशेष महत्त्वपूर्ण काम पूरा हुन कठिन पर्नेछ । सञ्चितधनको खर्च, साविकभन्दा बढी फजुल यात्रा, झुटो लाञ्छना, रोग–शोकको सामनाका बाबजुत सामान्यतया पदप्रतिष्ठा बढ्ने, अध्ययन अध्यापनमा सफलता मिल्ने र पेशा तथा उद्यम व्यवसायमा प्रगति हुनगई आर्थिक उन्नति हुनेछ । व्यापार व्यवसाय तथा कृषि एवं पशुपालनबाट केही लाभ उठाउन सकिने छ । रोजगारीको अवसर मिल्ने छ ।

विद्वतताको अहं र आत्मप्रसंशाको मनोविज्ञानको कारण मुल्याङ्कनमा गिरावट ल्याउने छ । कतिपय कर्तव्य एवं जिम्मेवारी निभाउन पर्ने ठाऊँमा चुकिन पनि सकिने छ ख्याल पुर्याउनु होला । निस्कामकर्मको सिद्धान्तले अवसरको सदुपयोग गर्दै स्वकर्ममा तत् रहन सकेमा तत्काल नभए पनि भविष्यमा उपलब्धि लिन सकिने छ । हिम्मत पनि नगिराउने र नविराउने सिद्धान्तलाई आत्मसात गरेर अघि बढ्नु होला ।

महादशा आदिमा प्रतिकूल दशा चल्नेहरूलाई वादविवाद, अपयश, मुद्धामामिला, कामकार्यमा अबरोध, मानप्रतिष्ठामा आँच, स्वास्थ्यमा समस्या, अपखबर र परिबन्दनीय परिस्थिति जस्ता प्रतिकूलता पर्नसक्ने छ । विश्वासघाती चक्रब्यू, कुलती, कुसंगत, विपरित खानपान आदिको भय पनि देखिन्छ । गुप्त रोग, शिर, नाक,कान घाँटी, दन्तरोग, अर्श (पाइल्स), ग्रन्थी (गाँठागुँठी) बढ्ने, वातव्याधि जस्ता स्वास्थ्य समस्या हुनसक्ने छ । उच्चरक्तचाप, मधुमेह, यक्ष्मा आदि दीर्घरोगी लगायत सम्बन्धितहरूले आहार विहार एवं नियमित औषधोपचारमा विशेष ध्यान दिनु उपयुक्त हुनेछ ।

यस वर्ष तपाईले इष्टदेवको साथमा वर्षभरी महावीर हनुमानको र वर्षको उत्तरार्धबाट माता बंगलामुखीको समेत भक्ति–स्तुति तथा श्रद्धा आराधना गर्नु हितकर हुनेछ ।

मकर राशि

मकर राशिका लागि वि.सं. २०७८ साल वर्षको पूर्वाध संघर्षकर एवं केही विपरित महसूस हुनेछ । चोटपटक, घाउखटिरा एवं पित्तविकार तथा ज्वरो प्रकोपको पनि भय छ । र पनि निस्काम कर्मको साधकको लागि भने सामान्यतया उपयुक्त कर्मफल मिल्ने छ । धेरथोर लाभ एवं उपलब्धिको सम्भावना पनि छ । र पनि उन्माद् तथा मदहोशीका लागि प्रतिफल विपरित नै हुने देखिन्छ ।

कामकार्यहरुमा अड्चन र ढिलासुस्तिको अनुभव हुनेछ । कैफियत कार्यमा चेष्टा हुने र पछि पश्चाताप हुनजाने भय पनि छ । जसबाट बंच्नु बुद्धिमानी हुनेछ । जन्मकालीन ग्रह अनुकूल हुने कमै व्यक्तिहरूका लागि भने अपेक्षित कार्यमा अबरोध भएपनि संघर्षका बाबजुत अनपेक्षित रूपमा आकस्मिक लाभ एवं उपलब्धिहरु मिल्ने छन् ।

महादशा आदिमा प्रतिकूल तथा अकारक दशा चल्नेहरुलाई अनुकूलताको तुलनामा बढी प्रतिकूलता तथा संघर्षजन्य परिस्थितिको सामना गर्नुपर्ने छ । धेरै पक्षमा सावधानी अप्नाउनु पर्ला । मिथ्याअपवाद, दुर्घटना, दैविक विपत्ति तथा धनजनको क्षति, दाम्पत्य तथा सन्तान कष्ट देखिएको छ भने परिबन्द, चोरी, राज्यबाट भय–कष्ट, गलत संगत, स्वजनबाट विश्वासघात, फँसिने–ठगिने, नहुने कार्यमा मन जाने, पश्चाताप पर्नेजस्ता फलको सामना गर्नुपर्ने छ ।

वात व्याधि, स्नायू तथा नशा रोग, ढाडकम्मर, शिर मस्तिष्क, अल्सर, क्षय, चोटपटक एवं प्रोष्टेड, मिर्गौला, लिभर गर्भाशय, थायरायड, स्तन विकार आदिसँग सम्बन्धीत रोगको खतरा छ । हृदयरोग, उच्च रक्तचाप, मधुमेह, दम जस्ता दीर्घरोगीहरू लगायत सम्बन्धित सबैले विशेषरूपमा स्वास्थ्यको ख्याल गर्नु उचित हुनेछ।

ग्रहको दुष्प्रभावलाई कम गर्न तपाईले यो वर्षभरी महाकाल शनि मृत्युञ्जयको पाठका साथमा महावीर हनुमान, वर्षको पूर्वाधमा माता बगलामुखी र विद्यार्थीहरूले माता सरस्वतीको दर्शन भक्ति एवं उपाशना गर्नु विशेष हितकर हुनेछ ।

कुम्भ राशि

कुम्भ राशि हुनेहरूका लागि वि.सं. २०७८ साल वर्षको पूर्वाधको तुलनामा उत्तरार्ध केही राहतप्रद रहने छ । वर्षको शुरुमा आयको तुलनामा व्यय तथा खतिक्षति बढाउने देखिएको छ । गोचरग्रहको परिषद्को अवस्था त्यति सकारात्मक नदेखिएको हुनाले विशेष सजगतापूर्वक जनव्यवहार एवं स्वकार्यको सम्पादन गर्नु उचित हुनेछ ।

प्रदेश जाने, मुग्लान पस्ने, घरपरिवारबाट टाढा हुने योग परेको हुनाले दलालीबाट बँचेर यात्रा सम्पादन गर्नु उचित हुनेछ । शत्रु प्रभाव बढ्ने गोचरयोग परेको हुनाले लोकव्यवहार एवं कार्यक्षेत्रमा निकै सावधानी अप्नाएर अघि बढ्नु बुद्धिमानी हुनेछ ।

खेलाडी, शारीरिक परिश्रम एवं कृषि र कलाजन्य क्षेत्रमा आवधिक सफलता प्राप्त हुनेछ । जन्म समयमा शनि आदि ग्रह अनुकूल अर्थात कारक रहनेको हकमा भने आकस्मिक उपलब्धि, लाभ एवं राजमान तथा अधिकार प्राप्ति हुनसक्ने छ । विना मेहनतको कैफियत आम्दानितर्फ चेष्टा बढ्नसक्ने र त्यसले पछि पश्चातापमा पार्नसक्ने खतरा देखिएकाले निकै होस पुर्याउनु बुद्धिमानी हुनेछ । कर्मयोगीहरुका लागि निस्काम कर्मबाट अन्ततः उपयुक्त उपलब्धि लिनसकिने छ । वर्षको उत्तरार्धमा अध्ययनमा अग्रता मिल्ने छ।

महादशा, अन्तर्दशा एवं योगिनी दशामा प्रतिकूल तथा अकारक दशा चल्नेहरुका लागि समय अल्लि विपरित देखिएको छ । झुटो लाञ्छना लाग्ने, चारित्रिक एवम् नैतिक प्रतिष्ठामा आँच आउने, मुद्धामामिला पर्नसक्ने, धन–जन तथा भौतिक सम्पत्तिको क्षतिखति हुने। दैविक विपत्ति, कूल–परिवारमा चोटपट आदि समस्याको सम्भावनालाई खगोलीय गोचर ग्रह स्थितिले संकेत गरेका छन् । नगरी नहुने काममा बाहेक अन्यमा बढी सरोकार नगरी इष्ट साधना तथा कर्ममा तप बढाउनु बुद्धिमानी हुनेछ ।

कुम्भ राशिका व्यक्तिहरुले यस वर्ष महाकाल शनि मृत्युञ्जयको पाठ, महावीर हनुमान, माता बंगलामुखी र भैरवदेव तथा माता छिन्नमस्ताको स्तुति आराधना उपाशना गर्नु शान्तिप्रद हुनेछ । दीनदुःखी, गरीब, अनाथ, असाय एवं श्रमिक वर्गलाई सहयोग हुने काम गर्नाले पनि ग्रहजनित दुष्प्रभाव कम गर्न मद्दत मिल्ने छ ।

मीन राशि

मीन राशि हुनेहरुका लागि वि.सं. २०७८ साल वर्षको पूर्वाध धेरै पक्षमा अनुकूल देखिएको छ । रोजगारको अभिलाषीलाई जागिर मिल्ने छ । जागिरेलाई पदोन्नतिका लागि समय अनुकूल परेको छ । व्यापार व्यवसाय तथा उद्योगधन्दामा स्तर वृद्धि हुनेछ । राजनीति एवं सामाजिक सेवा आदिमा पदप्रतिष्ठा र जिम्मेवारी बढ्ने छ । विद्यार्थीलाई अध्ययनमा सफलता मिल्ने छ । जग्गाजमिन थपिने छ, गृहनिर्माण आदि कार्य संपादन गर्नसकिने छ । सामान्य कष्टका बाबजुत सन्तान अभिलाषीलाई सन्तान प्राप्ति हुने तथा सुख एवं सन्तोष मिल्ने समय छ ।

न्यायिक विजय मिल्ने र कुलभित्र प्रतिष्ठा बढ्ने छ । राम्रो काममा नयाँ लगानीको अवसर मिल्नेछ । शेयर आदिबाट पनि राम्रो फाइदा उठाउन सकिने छ । विशेष कार्यहरु र रोकिएर रहेका काममा सफलता प्राप्त गर्न सकिने छ । समय र अवसरको उचित ढङ्गले सदुपयोग गर्दै अगाडि बढ्नाले सामाजिक एवं व्यवहारिक र व्यवसायिक क्षेत्रमा राम्रो प्रष्ठिाको साथमा भौतिक उन्नति गर्नसकिने छ ।

वर्षको उत्तरार्धमा अनुकूलतामा केही कमी आउने छ । खर्च, धपडीपूर्ण यात्रा केही अवमुल्यन आदि प्रतिकूलताको सामना गर्नपर्ने देखिन्छ । स्वास्थ्यले पनि निउ खोज्नसक्ने लक्षण देखिएको छ । महादशा, अन्तर्दशा एवं योगिनी दशामा प्रतिकूल तथा अकारक दशा चल्नेहरुले त्यसको ग्रहउपचारको उपाय अवलम्बन गर्नु शुभकार हुनेछ । इष्टदेवको साधनालाई बढाउने, दीनदुःखी वृद्धवृद्धा एवं गाईको सेवामा सहयोग गर्ने, विद्यार्थीलाई पाठ्य सामाग्री उपहार दिने गर्नाले शुभफललाई बढाउन मद्दत मिल्ने छ । वर्षको उत्तरार्धमा माता बगलामुखीको सेवा आराधना गर्नु उपयुक्त हुनेछ ।

ज्योतिषसम्बन्धी परामर्शका लागि ज्यो पं. दीपक सुवेदी (सम्पर्क : ९८५११३१७४७, ९८४१२२३१२६)

More News last news
Loading...