काठमाडौँ, (जीएनएन) । कोरोना महामारीका कारण प्रभावित मध्यपूर्वी मुलुक, यूएई, मा वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारको सहयोगको नाममा भएको आर्थिक अनियमितता छानबिनका लागि गठित समितिले प्रतिवेदन बुझाएको छ।
कोरोना महामारीका बेला समस्यामा परेका वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकहरुको सहयोगार्थ गैरआवासीय नेपाली संघ (एनआरएनए) लाई अन्तर्राष्ट्रिय दातृ संस्था, अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) ले करिव दश करोड रुपैयाँ उपलब्ध गराएको थियो।
गैरआवासीय नेपाली संघका उपाध्यक्ष डा. बद्रि केसीको संयोजकत्वमा एनआरएनएले वैदेशिक रोजगारीमा रहेर समस्यामा परेका नेपाली कामदारको सहयोगका लागि समिति गठन गरेको थियो। सोही समितिले सम्बन्धित देशका राष्ट्रिय समन्वय परिषद (एनसीसी) मार्फत सहयोग परिचालन गरेको थियो।
दुबईमा रहेका नेपाली कामदारको उद्धार, राहत तथा पुनर्स्थापनामा व्यापक अनियमितता भएको खबर सार्वजनिक भएपछि त्यसको छानबिनका लागि झण्डै डेढ महिनाअघि राजु केसीको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरिएको थियो।
सोही छानबिन समितिले आइतबार गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्लाई प्रतिवेदन बुझाएको हो । समितिले आइसीसी कोषाध्यक्ष महेश श्रेष्ठलाई प्रतिवेदन बुझाएको छ।
निष्कर्षसहितको प्रतिवेदन
छानबिन समितिले अनुसन्धान प्रक्रिया र निष्कर्षसहित १६ पृष्ठको लिखित प्रतिवेदन बुझाएको छ भने झण्डै साठी पृष्ठ प्रमाण पेश गरेको छ। महामारीका बेला भएको फजुल खर्च, फर्जी बिल भरपाई तथा नेपाली कामदारलाई नेपाल पठाउने तथा काठमाडौंबाट घरसम्म पुर्याउने नाममा अपनाइएका गलत प्रक्रिया पनि प्रतिवेदनमा समावेश गरिएको बताइएको छ।
छानबिन समितिका सदस्यहरुले प्रतिवेदनका बारेमा तत्काल कसैलाई केही नभन्ने र आइसीसीले लिने निर्णयलाई पर्खिने बताएका छन् ।
आइसीसी र परियोजना सञ्चालन समितिको समन्वयमा दुबई एनसीसीले आर्थिक अनियमितता गरेको सार्वजनिक भएपछि दुबई एनसीसीले यसअघि अध्यक्ष प्रकाश कोइराला र उपाध्यक्ष पासाङ शेर्पालाई निलम्बन गरिसकेको छ ।
कोइराला र शेर्पाले परियोजना मार्फत प्राप्त रकम काठमाडौंस्थित एक बैंकमा खाता खोली जम्मा गरेको रकम पनि सार्वजनिक भएको थियो ।
छानबिन समितिले प्रतिवेदनमा के उल्लेख छ भन्ने नखुलाए पनि प्रतिवेदन कोषाध्यक्षलाई हस्तान्तरण गरेको भने जानकारी दिएको छ ।
राजु केसीको संयोजकत्वको छानबिन समितिमा भुवानीप्रसाद तिमिल्सिना, बाबुराम विश्वकर्मा, महेश गिरी, लक्ष्मण खनाल र महेश मोक्तान सदस्य रहेका छन्।
दुबईसँगै कतार, साउदी र मलेसियामा पनि राहत, उद्धार र पुनर्स्थापनाको नाममा व्यापक अनियमितता भएको दाबी गरिएको छ।
दुबईमा भएको भनिएको अनियमितताको छानबिन भइरहँदा एनआरएनए आइसीसीले भने आइएलओलाई प्रतिवेदन बुझाइसकेको छ।
आइसीसीले शीर्षक तोकेर खर्चको फाँटबारी देखाएपनि त्यसको आधार र प्रक्रिया भने खुलाएको छैन। आइसीसीले आइएलओलाई बुझाएको प्रतिवेदनका बारेमा आइसीसीकै अधिकांश पदाधिकारी र सदस्यहरु अनभिज्ञ छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
