चितवन । भरतपुर विमानस्थल आजदेखि १० दिन बन्द हुने भएको छ । विमानस्थलको धावनमार्ग मर्मतसम्भार गर्न आजदेखि मङ्सिर २४ गतेसम्म बन्द गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरण भरतपुर विमानस्थल कार्यालयले जानकारी दिएको छ ।
कार्यालयका प्रमुख पवनकुमार गौतमका अनुसार विमानस्थल १० दिन बन्द रहने सूचना जारी गरिसकिएको छ । धावनमार्गको ठाउँ–ठाउँमा खाल्डाखुल्डी परेकाले धावनमार्ग र पार्किङस्थल मर्मतसम्भारका लागि प्राधिकरणले ठेक्का लगाएको हो ।
‘आजदेखि १० दिन बन्द गरेर करीब एक हजार २०० मिटरको धावनमार्गमा मर्मतसम्भार गर्दैछौँ’, विमानस्थल प्रमुख गौतमले भने, ‘पार्किङ पनि सुविधायुक्त बनाउँछौँ’, विमानस्थलको धावनमार्ग ठाउँ–ठाउँमा भत्किएको र कतैकतै उप्किएकाले मर्मतसम्भार गर्न लागिएको गौतमले बताए ।
झण्डै २० वर्षदेखि विमानस्थलको धावनमार्गमा ओभरले अर्थात कालोपत्रेमाथि थप कालोपत्रे गरिएको थिएन । नेपाल भ्रमण वर्ष शुरु हुनुभन्दा अगाडि पर्यटकको कम चापलाई ख्याल गरेर यो समय छानिएको प्रमुख गौतमले बताए । विमानस्थल ओभरले गर्दा ६० एमएमको पक्की हुनेछ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
