काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले मानव अङ्गहरू प्रत्यारोपण सम्बन्धी कानुनलाई खुकुलो बनाउँदा विकृति बढ्नसक्ने बताएका छन् । आज ललितपुरमा ब्रह्मकुमारी राजयोग सेवा केन्द्रले आयोजना गरेको ग्लोबल मेगा रक्तदान कार्यक्रमको शुभारम्भ गर्दै उनले मानव अङ्गहरू प्रत्यारोपण सम्बन्धी कानुनलाई खुकुलो बनाउँदा विकृति बढ्नसक्ने भएकाले खुकुलो बनाउन नसकिने बताएका हुन् ।
नेपालमा मिर्गौला, आँखा लगायतका प्रत्यारोपण गर्न मिल्ने ६ वटा मानव अङ्गहरू पर्याप्त मात्रामा प्राप्त हुने स्थिति नरहेको उनले बताए। उनले यदि मानव अङ्ग प्रत्यारोपणका लागि सहजै एकले अर्कोलाई दिन मिल्ने कानुन बनाउने हो भने यसले विकृति भित्र्याउने बताए ।
मान्छेको ब्रेन मरिसकेपछि मृत्यु भएको २४ घण्टाभित्र मानव अङ्गहरू झिकेर अर्को आवश्यक पर्ने व्यक्तिमा प्रत्यारोपण गर्न सकिने गरी इरानमा प्रयोग भइरहेको उनले बताए । मन्त्री पौडेलले एउटाले अर्काको सहयोग गर्नु नै मानव धर्म भएको बताए । संस्कारयुक्त संस्कृतिको विकास गर्न जरुरी रहेको उनले बताए ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
