काठमाडौँ । तामाङ समुदायाको राष्ट्रिय पर्व सोनाम ल्होछार शुरू भएको छ । देशभर ल्होछारको अवसर पारेर तशुभकामना आदानप्रदान तथा साँस्कृतिक कार्यक्रम गरि नयाँ वर्षको स्वागत गरिएको छ । बुधवार मञ्जुश्री सम्वत् २८६१ डुल ल्हो अर्थात् सा–पुख्रीको स्वागत डम्फूको ताल र टुङ्नाको धुनमा काठमाडौँको गोकर्णेश्वर स्थित जोरपाटीचोकमा धुमधामसंग गरिएको छ।
लामा गुरु, ताम्बा र बोम्बोको विषेश पूजापाठपछि मौलिक कला, संस्कृति तथा रितिरिवाजलाई संरक्षण र प्रवद्र्धनमा विशेष जोड दिने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा तामाङ बुद्धिजिवी, तम्बा, कलाकार तथा पत्रकारहरूको उल्लेख्य सहभागी रहेका थिए ।
सेलो नेटवर्क, तामाङ जुहारी कलाकार संघ र सेवा फिल्मस्को संयुक्त आयोजनामा भएको सो कार्यक्रममा गोकर्णेश्वर नगरपालिका प्रमुख दीपक कुमार रिसालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा उपप्रमुख सान्नानी लामा, बलेफी गाउँपालिका उपाध्यक्ष सरू तामाङ, तामाङ संघसंस्थाका अग्रज व्यक्तित्वहरूको आतिथ्यतामा सम्पन्न भएको छ।
गोकर्णेश्वर नगरपालिका स्तरीय ल्होछार शुभकामना तथा साँस्कृतिक कार्यक्रमले एकता, सद्भाव र सहकार्यको भावनालाई समेट्न सफल भएको वक्ताहरूले बताए । गोकर्णेश्वर नगरपालिका लगायत विभिन्न संघसंस्थाको सहकार्यमा आयोजित उक्त कार्यक्रमले स्थानीय तहमा ल्होछार महत्व बढ्दै गएको अतिथिको रूपमा उपस्थित अतिथिहरूले बताए।
कार्यक्रममा ह्याङ्ला रिमठिम डम्फू संघ, दाङबोला ग्योइ रिमठिम, नेपाल तामाङ मौलिक ह्वाइला न्हान संघ, तामाङ जुहारी कलाकार संघ लगायतले तामाङ समुदायको कला, संस्कृति, भाषा र इतिहास तथा पहिचान झल्किने प्रस्तुति राखेका थिए । चर्चित गायिका इन्दिरा गोले, लाक्पा तेन्जिङ शेर्पा, आरवी सिङदान, चित्रबहादुर जिम्बा, छितिज बल, निरूता राई, प्रेमा शेर्पा चौटत, बैरागी च्याङ्बा लगायत कलाकारहरूले प्रस्तुति दिएका थिए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
