पहिलो महिला राजदूत विन्देश्वरी शाहको निधन

काठमाडौं । नेपाल सरकारको परराष्ट्र सेवामा लामो समय योगदान पुर्‍याएकी विन्देश्वरी शाहको निधन भएको छ। परिवार स्रोतका अनुसार ९१ वर्षको उमेरमा बिहीबार बिहान आफ्नै निवास कालीमाटी, काठमाडौंमा उहाँको निधन भएको हो।

उहाँका पिता पद्मसुन्दर मल्ल निर्वासनमा भएका बेला सन् १९३३ फेब्रुअरी १३ मा भारतको कर्सियोङमा शाहको जन्म भएको थियो । शाहले सेन्ट हेलेन्स कन्भेन्ट, कर्सियोङबाट स्कुले शिक्षा लिनुभएको थियो।

Advertisement

उहाँले अमेरिकाको बर्नार्ड कलेज, कोलम्बिया विश्वविद्यालयबाट स्नातक र जोन्स हप्किन्स विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय मामिलामा स्नातकोत्तर गर्नुभएको थियो। अमेरिकाको कुनै पनि कलेजबाट स्नातक गर्ने उहाँ नै नेपालकी पहिलो महिला हुनुहन्छ।

अमेरिकाको अध्ययन सकेको केही समयपछि उहाँले सन् १९५९ मा नेपाल सरकारको परराष्ट्र मन्त्रालयमा सेवा शुरू गर्नुभएको थियो । शाहले वासिङ्टन डिसी, ढाका र नयाँ दिल्लीमा विभिन्न कूटनीतिक जिम्मेवारी सम्हाल्नुभएको थियो । उहाँले सन् १९६१ देखि १९६५ सम्म अमेरिकास्थित नेपाली दूतावासमा समेत काम गर्नुभएको थियो।

सन् १९८८ मा भारतका लागि राजदूत नियुक्त शाह नेपालकी पहिलो महिला राजदूत हुनुहुन्थ्यो। सन् १९७२ मा बंगलादेश स्वतन्त्र भएर नेपालले दूतावास खोलेपछि उहाँ त्यहाँको डेपुटी चिफ अफ मिसनका रूपमा काम गर्नुभएको थियो।

उहाँले सन् १९६६ मा डा. नारायण केशरी शाहसँग विवाह गर्नुभएको थियो। उहाँका दुई छोरा अनिलकेशरी शाह र उज्वलकेशरी शाह हुनुहुन्छ। अनिल शाह पूर्वबैंकर हुनुहुन्छ भने उज्वल शाहको निधन भइसकेको छ। शाहको निधनले नेपालको कूटनीतिक क्षेत्रमा योगदान दिने एक अनुभवी व्यक्तित्व गुमाएको छ। उहाँको अन्त्येष्टि कार्यक्रम परिवारको निर्णयअनुसार गरिने जनाइएको छ।

More News last news
Loading...