झापा । बुद्धशान्ति गाउँपालिकास्थित आदर्श माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत सबिन बाँस्कोटाले ‘नमूना हवाईजहाज’ बनाएर उडाउन सफल भएका छन्। उनले आठ महिना मिहेनत गरेर ‘नमूना हवाईजहाज’ बनाएका हुन्।
बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष मनोज प्रसाईं हालै सो जहाज उडाउँदा छात्र बाँस्कोटाको साथमा नै थिए। सो अवसरमा अध्यक्ष प्रसाईले बाँस्कोटाको प्रतिभालाई अद्भुत बताए।
बुद्धशान्ति-१ डुम्रेकोट घर भएका १७ वर्षीय बाँस्कोटाले उडाएको हवाईजहाज नेपाल एयरलायन्सको प्रतिलिपिजस्तो देखिन्छ। जहाजमा मेकानिकल र इलेक्ट्रिकल प्रविधिको संयोजन गरिएको उनले बताए।
धावनमार्गमा झैँ दगुरेर उडेको जहाज २० मिनेटसम्म आकाशमा फन्को मारेर ओर्लिएको थियो। जहाजलाई बाँस्कोटाले भुइँबाट रिमोटमार्फत नियन्त्रण गरेका थिए। खेर गइरहेको टिनको पाता, फलामको टुक्राटुक्री, प्लास्टिक र तार प्रयोग गरेर बनाइएको जहाज दुई दिनअघि गाउँपालिका परिसरमा उडाउँदा सयौँ दर्शक रोमाञ्चित बनेका थिए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
