काठमाडौं । १३ औं बिन्ध्यबासिनी म्यूजिक अवार्डमा वरिष्ठ संगीतकार प्रकाश गुरुङलाई दीर्घ साधना सम्मान अर्पण गरिने भएको छ ।बिन्ध्यबासिनी फाउन्डेसनले बिन्ध्यबासिनी म्युजिक अवार्डको १३औं संस्करण आगामी बैशाख २२ गते शुक्रबार सम्पन्न गर्दै छ । मुक्तिनाथ विकास बैंकको प्रस्तुती रहेको सो कार्यक्रममा अग्रज संङ्गीतकार प्रकाश गुरुङलाई रु १ लाख धनरासीसहित बिन्ध्यबासिनी लाईफ टाईम अचिभमेन्ट अवार्ड २०७९ समर्पण गर्ने फाउन्डेसनले जानकारी गराएको छ ।
यसअघि यो सम्मानबाट गायक तथा सङ्गीतकार भक्तराज आचार्य, संगीतकार माणिकरत्न, गीतकार किरण खरेल, संगीतकारअम्बर गुरुङ, गीतकार दिनेश अधिकारी, गायक तथा संगीतकार प्रेमध्वज प्रधान, संगीतकार दीपक जंगम, गीतकार रत्न शमशेर थापा, संगीतकार शक्ति बल्लभ, गायक कुमार बस्नेत, गायक योगेश बैद्य र गीतकार बिश्व बल्लभ जस्ता अग्रज श्रष्टाहरु सम्मानित भइसकेका छन् । त्यसैगरी, बिन्ध्यबासिनी म्युजिकले यो बर्षको संगीत साधना सम्मान अग्रज गायिका सुक्मित गुरुङलाई समर्पण गर्ने भएको छ । पचास हजार नगद सहित सुक्मितलाई सम्मान गर्ने निर्णय भएको छ ।
त्यसैगरी, नेपाली संगीत क्षेत्रको श्रीबृद्धिका लागि बिगत २५ बर्षदेखि क्रियाशील बिन्ध्यबासिनी म्युजिकले यो अवार्ड पत्रकार नरेश भट्टराईलाई दिन निर्णय गरेको हो । २५ हजार धनराशीको यो “बिन्ध्यबासिनी कला पत्रकारिता सम्मान २०७९” बिगत २५ बर्षदेखि विभिन्न सञ्चार गृहसँग आबद्ध रहेर गीत, संगीत र श्रष्टाको प्रबर्द्धन र विकासमा योगदान पुर्यायबापत पत्रकार भट्टराईलाई प्रदान गर्ने भएको छ ।
त्यसैगरी, नगद २५ हजार धनराशीसहितको ‘प्रेमध्वज संगीत रत्न सम्मान २०७९’ गायक संगीतकार भबिन ढुङ्गानाले प्राप्त गर्नेछन् । यसअघि बिन्ध्यवासिनी संगीत रत्न सम्मानबाट गायिका अन्जु पन्त २०७१, गायक राजेश पायल राई २०७२, गायक रामकृष्ण ढकाल २०७३, गायिका रिमा गुरुङ होडा २०७४, गायक तथा संगीतकार सुगम पोखरेल २०७५, संगीतकार हरि लम्साल २०७६, गायिका मान्डवी त्रिपाठी २०७७ मा सम्मानित भएको फाउन्डेसनले उल्लेख गरेको छ।
सम्मानको आठौँ संस्करणबाट सो सम्मान अग्रज श्रष्टा प्रेमध्वज प्रधानप्रति समर्पण गर्दै ‘प्रेमध्वज संगीत रत्न सम्मान’ नामाकरण भएको थियो । त्यस लगत्तै गायक संगीतकार अजर जंगमले २०७८ मा यो सम्मान पाएका थिए । यसपटकको बिन्ध्यबासिनी म्युजिक अवार्डमा झलकमान लोक संगीत सम्मान समेत गरिने छ । यस सम्मानका बिषयमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको सिफारिस पत्र पर्खिरहेको, पत्र प्राप्ति पछि यो बिषयमा निर्णय गर्ने फाउन्डेसनले जनाएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
