काठमाडौं । निर्वाचन आयोगले आइतबार स्थानीय तह निर्वाचनका लागि मतदाता नामावलीको अन्तिम सूची प्रकाशन गर्ने भएको छ।
आयोगका अनुसार करिब एक करोड ७७ लाखभन्दा बढी मतदाता मतदानका लागि योग्य रहेका छन् ।
यसअघि मतदाता नामावलीमा दाबी विरोधका लागि फागुन १९ गतेदेखि एक साताको म्याद दिइएको थियो । सो प्रक्रिया पूरा भएको आयोगको भनाइ छ ।
दाबी विरोधपछि करिब एक लाख मतदाता सूचीबाट हटेको बताइएको छ । अन्तिम नामावली प्रकाशन भइसकेपछि कुनै प्रकारबाट हेरफेर गर्न सकिने छैन । आयोगका अनुसार यस वर्ष करिब दुई लाख मतदाता थपिँदै छन् ।
वैशाख ३० मा हुने स्थानीय निर्वाचनका लागि अब मात्र ४७ दिन बाँकी रहेको छ ।
मतपत्रको डिजाइन तयार, सबै जिल्लामा फरक फरक मतपत्र
आयोगले स्थानीय तहको निर्वाचनमा प्रयोग हुने मतपत्रको डिजाइनलाई शनिबारको बैठकमार्फत स्वीकृत पनि गरेको छ ।
आयोगले ७७ जिल्लामा ७७ वटै प्रकारका मतपत्र हुनेगरी डिजाइन तयार गरेको हो । आयोग उच्च स्रोतका अनुसार ७७ जिल्लामा ७७ प्रकारका मतपत्र प्रयोग गर्नेगरी डिजाइन तयार पारिएको छ । मतपत्रको आकार १७ देखि ५० लहरसम्मको हुनेछ ।
आयोगले मतपत्रमा रहने निर्वाचन चिह्न चार खण्डमा रहनेगरी डिजाइन तयार गरेको हो । राष्ट्रिय मान्यता प्राप्त दलबाहेक जिल्लागत विवरण आयोगमा बुझाएका अन्य दल र स्वतन्त्र उम्मेदवारलाई समेत चिह्न दिनेगरी ७७ वटै जिल्लाका लागि फरक फरक मतपत्र डिजाइन भएको हो ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
