काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणको पहलमा २९ बढी जिल्लामा रहेका बाढी, पहिरो र बेमौसमी बर्षा पीडितहरूलाई राहत सामाग्री उपलब्ध गराइएको छ । अन्तराष्ट्रिय मानवतावादी संस्था चुजी फाउण्डेसनको १७ लाख अमेरिकी डलर सहयोगमा राहत सामाग्री वितरण गरिएको हो ।
झापा, बारा, काभ्रे, कास्की, सुर्खेत, सिन्धुपाल्चोक, रामेछाप, भक्तपुर, काठमाडौं, पर्वत, रौतहट, सोलुखुम्बु, धनकुटा, सुनसरी, इलाम, उदयपुर, ललितपुर, सल्यान, महोत्तरी, धादिङ, बर्दिया, कैलाली, नेपालगन्ज, धनुषा, सर्लाही, ताप्लेजुङ, मोरङ, रुपन्देही, चितवन लगायतका जिल्लामा राहत वितरण गरिएको हो ।
‘गृहमन्त्रीज्यूको पहलमा र राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा रुपन्देही जिल्लामा राहत वितरण कार्य भइरहेको छ,’ राहत वितरणकोसंयोजन गरेका सञ्जिव बस्यालले जानकारी दिए ।
रुपन्देहीमा बेमौसमी वर्षाबाट पीडित बनेका १ हजार ४५६ परिवारलाई राहत सामाग्री उपलब्ध गराउने लक्ष्य छ । जसमध्ये १ हजार ३ सयभन्दा बढी परिवारलाई राहत वितरण भइसकेको छ ।

रुपन्देहीको अब देवदह नगरपालिकामा मात्र राहत सामाग्री वितरण गर्न बाँकी छ । नगरपालिकाका मेयरलाई कोरोना संक्रमण भएपछि राहत वितरण कार्य स्थगन गरिएको थियो ।
स्थानीय तहले सूचीकृत गरेका पीडितहरुलाई राहत सामाग्री वितरण गरिएको बस्याले जानकारी दिए । एउटा परिवारलाई २५ केजी चामल, १० केजी आटा, १ किलो दाल, १ किलो चना, १ किलो चिनी, १ किलो नुन, साबुन, २/३ वटा ब्लैङ्केट लगायतका सामाग्री उपलब्ध गरिएको छ ।
मन्त्री खाणले चिनेजानेका प्रकोप तथा विपद्का क्षेत्रमा लामो अनुभव प्राप्त गरेका व्यक्तिहरूलाई बेमौसमी वर्षाका कारण पीडित बनेकाहरूलाई सहयोग गर्न आग्रह गरेका थिए । उनीहरूले चुजी फाउन्डेसनसँग कुरा गरेपछि फाउण्डेसनले १७ लाख अमेरिकी डलर बराबरको सहयोग गर्ने प्रतिबद्धता जनाएको थियो ।
त्यही प्रतिबद्धता अनुरुपको सहयोग अहिले वितरण भइरहेको हो । चुजी फाउण्डेसनले सहयोग उपलब्ध गराएपछि राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले राहत सामाग्री वितरणमा सहजकर्ताको भूमिका निर्वाह गरिरहेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
