काठमाडौँ । युवा पत्रकार तथा तारकेश्वर आवाजका प्रकाशक तथा सम्पादक नन्द बहादुर ऐडीको अल्पायुमै निधन भएको छ। केही समयदेखि बीर अस्पतालमा उपचाररत ऐडीको आज (शनिबार) बिहान निधन भएको हो ।
उनी केही समयदेखि मृगौला र लिभरको समस्याबाट पीडित बनेका थिए। उनको उपचारकै क्रममा बीर अस्पतालमा निधन भएको पारिवारीक स्रोतले जनाएको छ। विस २०४८ साल जेठ २३ गते पिता वलपति ऐडी र माता बिजौरा ऐडीको कोखबाट माईलो सन्तानको रुपमा जन्मेका ऐडीका श्रीमती, एक छोरा र एक छोरी छन्।
नेपालको अति विकट मानिने कर्णाली प्रदेश, हुम्ला जिल्लाको साविक रोडिको गाउँ विकास समिती वडा नं ४ फुचा गाउँमा जन्मिएका ऐडीले विस २०६५ देखि राष्ट्रिय जनमञ्ज साप्ताहिकमा हुम्ला डायरी नामक स्तम्भबाट आफ्नो पत्रकारीता सुरु गरेका हुन्।
पत्रकार ऐडीले वि.स. २०६९ सालमा नेपालको विकट कर्णाली क्षेत्रको पहिलो मासिक पत्रिका हिमनगर जिल्ला प्रशासन कार्यालय हुम्ला दर्ता गरी विस २०७२ सालसम्म निरन्तरता दिए। उक्त पत्रिकाको प्रकाशकका साथै कार्यकारी सम्पादकको रुपमा सो समय पत्रकार ऐडीले जिम्मेवारी बहन गरेका थिए।
पत्रकार ऐडीले वि.स. २०७२ सालमा काठमाडौँको उत्तरी भेगमा रहेको तारकेश्वर नगरपालिकालाई विशेष कार्यक्षेत्र बनाउँदै तारकेश्वर आवाज मासिक पत्रिका सञ्चालनमा ल्याए। उक्त पत्रिका तारकेश्वर नगपालिकाको मुखपत्रको रुपमा प्रकाशन हुँदै आएको छ। हाल उक्त पत्रिकाको अनलाईन संस्करण तारकेश्वर डटकम समेत सञ्चालनमा छ। उनी उक्त पत्रिकाका प्रकाशक तथा सम्पादक पनि हुन्।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
