काठमाडौं l पठाओ स्कुटर दुर्घटना हुँदा काठमाडौंको कलंकीमा चालक र यात्रु दुवैको मृत्यु भएको छ । मंगलबार साँझ पौने ५ बजे कलंकीको सीता पेट्रोल पम्पनजिकै सो दुर्घटना भएको थियो ।
ओम जनता यातायातको बसले पठाओ स्कुटरलाई ठक्कर दिँदा दुर्र्घटना भएको र दुवैजनाको मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
मुत्यु हुनेमा स्कुटरचालक धादिङ घर भई अहिले थानकोट बस्दै आएका अन्दाजी ३५ वर्षका रामबहादुर आचार्य र यात्रु बाँके घर भई हाल इमाडोल बस्दे आएका ५२ वर्षका यादवकुमार शाह छन् ।
कलंकीबाट बल्खुतर्फ जाँदै गरेको प्रदेश ०३-०२-०१४ प ७४६३ नम्बरको स्कुटरलाई विपरीत दिशाबाट कलंकीतर्फ आइरहेको प्रदेश ०३-०१-००५ ख ९३०० नम्बरको बसले ठक्कर दिँदा स्कुटरचालक र यात्रु घाइते भएको परिसरले जानकारी दिएको छ ।
गम्भीर घाइते भएका दुवैजनालाई उपचारका लागि बयोधा अस्पताल पुर्याइएको थियो । उपचारका क्रममा दुवैको मुत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने बस र स्कुटरलाई महानगरीय प्रहरी वृत्त कालीमाटीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको छ ।
पठाओ दुर्घटनामा बीमा पाइन्छ ? पठाओ सवारीसाधन दुर्घटनामा परेको खण्डमा त्यसमा सवार चालक र यात्रुले बीमा वापत (निधनको हकमा रु ५ लाख) रकम पाउँछन् तर बीमाको रकम पाउनको लागि पठाओ राइडरले अनलाइन ट्रीप गरेको हुनुपर्छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
