काठमाडौँ । गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् युकेको अध्यक्षमा समावेशी समूहको तर्फ़बाट उम्मेद्वार बनेका प्रेम गाहा मगर निर्वाचित भएका छन्।
दुई कार्यकाल उपाध्यक्ष रहेर काम गरिसकेका मगर आगामी २०२१–२०२३ कार्यकालका लागि एनआरएनए बेलायतको अध्यक्षमा निर्वाचित भएका हुन्।
अगस्ट २ तारिखका दिन डिजिटल माध्यमबाट मतदान भएपनि एक हजार भोट फर्जी भेटिएको भन्दै मतपरिणाम आउन ढिला भएको थियो ।
नवनिर्वाचित अध्यक्ष प्रेम गाहा मगरले संस्थाको आर्थिक पारदर्शिता, गोर्खाहरुको समस्या समाधान, युवा तथा महिलाहरुको उल्लेखनीय सहभागिता वृद्धि, नेपाली नागरिकता निरन्तरता तथा नेपालमा रहेको पैतृक सम्पत्तिको सुरक्षा लगायतका आफ्ना एजेण्डा पूरा गर्न लागिपर्ने बताए।
एनआरएनको उद्गमस्थल मानिने बेलायतमा रहेका संघका संस्थापकहरु, अग्रज तथा अभियन्ताहरुले पनि गाहा मगरलाई समर्थन गरेका थिए । त्यस्तै, २०१९–२०२१ कार्य समितिका अधिकांश पदाधिकारी र सदस्यहरुले पनि गाहा मगरलाई समर्थन गरेका थिए ।
केन्द्रीय सल्लाहकार आचार्यद्वारा बधाई
गैर आवासीय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषद्का सल्लाहकार कुल आचार्यले एनआरएनए बेलायतको नयाँ कार्यसमितिलाई बधाई दिँदै नयाँ नेतृत्वलाई ‘हाम्रो एनआरएन, राम्रो एनआरएन’ बनाउन आग्रह गरेका छन्।
एनआरएनए यूकेका पूर्व अध्यक्ष समेत रहेका आचार्यले भनेका छन्, “एनआरएनए एउटा अभियान हो र यसमा कसैको पनि हार वा जित हुंदैन। नव निर्वाचित कार्य समितिलाई बेलायतस्थित नेपाली समाजलाई एकजुट गरी ‘हाम्रो एनआरएन राम्रो एनआरएन’ बनाउन सफलता मिलोस्, शुभ कामना।”
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
