काठमाडौँ । शुक्रबार कोरोनाका सक्रिय संक्रमितको संख्या एक महिनायताकै उच्च देखिएको छ। गत १७ असारमा सक्रिय संक्रमितको संख्या ३१ हजार ३ सय ६८ रहेको थियो। यो संख्या क्रमशः ओरालो लाग्दो क्रममा रहे पनि पुनः शुक्रबार ३१ हजार १४ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दैनिक ५ सयभन्दा धेरै संक्रमित हुने १२ वटा जिल्ला छन्। जसमा प्रदेश १ का मोरङ र सुनसरी बाग्मती प्रदेशका काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन र मकवानपुर, गण्डकी प्रदेशका नवलपरासीपूर्व रहेका छन्।
यस्तै, कर्णाली प्रदेशको सुर्खेत, लुम्बिनी प्रदेशको रूपन्देहीलगायतका रहेका छन्। पाँच दिनयता लगातार कोरोना संक्रमितको संख्या ३ हजारमाथि रहेको छ। गत सोमबार ३ हजार ४ सय २१, मंगलबार ३ हजार ८ सय ९९, बुधबार ३ हजार ८ सय ४०, बिहीबार ३ हजार ३ सय ६५ र हिजो शुक्रबार ३ हजार ६ सय ११ जना संक्रमित थपिएका थिए।
हेलचेक्र्याइँका कारण कोरोना संक्रमण बढ्दो क्रममा रहेको छ । सरकारले जारी गरेको जनस्वास्थ्यका मापदण्ड कार्यान्वयन हुन नसक्दा जोखिम पुनः बढेको जनस्वास्थ्य विज्ञले बताउँदै आएका छन् । सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन संक्रमणबाट बच्न स्वयं व्यक्ति आत्मानुशासित हुनुपर्ने बताउँछन् । उनी मास्कको समुचित प्रयोग, भौतिक दूरी कायम र व्यक्तिगत सरसफाइमा ध्यान दिनुपर्ने आवश्यकता औंल्याउँछन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा पीसीआर तथा एन्टिजेन गरी १४ हजार ६ सय ६१ जनाको परीक्षण गरिएको छ। गत २४ घण्टामा ९ हजार ७ सय ८३ जनाको आरटी–पीसीआर विधिबाट र ४ हजार ८ सय ७८ जनाको एन्टिजेन परीक्षण गरिएको छ ।
शुक्रबार देशभर २७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ८ सय ३४ पुगेको छ। केही दिनयता गम्भीर संक्रमितको संख्या पनि बढ्दो क्रममा रहेको छ।
देशभरका अस्पतालमा ६ सय ८६ जना आईसीयू र १ सय ६१ जना भेन्टिलेटरमा उपचाररत छन् । हाल देशभर ३ सय ९० जना क्वारेन्टाइनमा छन् । अहिलेसम्म ३५ लाख ९४ हजार २ सय २ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयको तथ्याकंमा छ। आजको राजधानी दैनिकमा खबर छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
