काठमाडौँ । गैर आवासीय नेपाली संघ (एनआरएनए) मा महाधिवेशन नजिकिँदै जाँदा चरम विवाद बढेको छ। राष्ट्रिय समन्वय परिषद्हरु (एनसीसी) मा अधिवेशन चलिरहँदा सदस्यता र नयाँ महाधिवेशन प्रतिनिधि (डेलिगेट्स) चयन लगायतका विषयमा विवाद बढेको हो।
अन्तर्राष्ट्रिय समन्वय परिषदका केही पदाधिकारीहरुले एनसीसीका अधिवेशनहरुमा अनावश्यक हस्तक्षेप गरेको भन्दै आइसीसीकै पदाधिकारीहरुले अध्यक्ष र महासचिवको चर्को आलोचना गरेका छन्। आगामी अक्टोबरमा हुने संघको १० औं महाधिवेशनको तयारी स्वरुप बिहीबार साँझ आयोजित पदाधिकारी (अफिस बेयरर्स) हरुको बैठक विवादकै कारण कुनै निष्कर्षमा पुग्न सकेन।
बैठकका लागि १७ वटा अजेण्डा तय गरिएको भएपनि शुरुमै पदाधिकारीहरुबीच नै भनाभन भएपछि बैठक ठोस प्रस्तावमा प्रवेश नै गर्न सकेन । बैठक शुरु भए लगत्तै महासचिव हेमराज शर्माले बैठकका प्रस्तावहरु पेश गरेका थिए । त्यस अगावै सचिवालयले बैठकका सहभागी सबै पदाधिकारीहरुलाई इमेल मार्फत लिखित रुपमै प्रस्ताव उपलब्ध गराइसकेको थियो ।
सोही अनुसार महासचिव शर्माले आसन्न दशौं महाधिवेशनको तयारी र जारी एनसीसीहरुको अधिवेशनका विषयलाई समेटेर सांगठनिक प्रतिवेदन पेश गर्न थालेपछि विवाद उत्पन्न भएको हो । विवादकै कारण बैठक अन्य प्रस्तावमा अगाडि बढ्नै सकेन र विना निष्कर्ष टुंगियो ।
बैठकमा महासचिव शर्माले अमेरिकाको एनसीसी अधिवेशनमा विधानको पालना नभएको बताएपछि अमेरिकामा नै रहेका उपाध्यक्ष सोनाम लामाले प्रतिवाद गरेका थिए ।
एनसीसी अमेरिकाको निर्वाचन एक महिना अगावै सम्पन्न भएपनि गत साता मात्रै साधारणसभाको आयोजना गरी नवनिर्वाचित कार्य समितिलाई पदभार हस्तान्तरण गरिएको थियो । नयाँ कार्य समितिलाई सपथ गराउने क्रममा कार्यक्रममै विवाद उत्पन्न भएको हो ।
सोही प्रसंग महासचिव शर्माले आइसीसी पदाधिकारी बैठकमा पनि कोट्याएपछि उपाध्यक्ष सोनाम लामाले अमेरिकाको वास्तविक घटनाबारे जानकारी गराउने क्रममा महासचिव शर्मा र उपाध्यक्ष लामाबीच निकै बेर भनाभन नै चल्यो । उपाध्यक्ष लामाले ‘महासचिव शर्माकै कारण संगठन बिग्रिएको भन्दै भन्दै एनसीसीहरुमा गरिएको हस्तक्षेप तत्काल बन्द गर्न चेतावनी’ दिएका थिए ।
‘महासचिवज्यू, तपाईंकै कारण एनसीसीहरु पीडित भएका छन्, संगठन बिग्रिएको छ, यसरी संगठन बिग्रिनुमा तपाईंले जिम्मेवारी लिँदै एनसीसीहरुमा गरेको हस्तक्षेप तत्काल बन्द गर्नुस्’ बैठकमा उपाध्यक्ष लामाले भनेका थिए।
उपाध्यक्ष लामाले एनसीसीहरुले समाधान गर्ने विषयमा महासचिवले हस्तक्षेप गर्ने र त्यसलाई अर्का उपाध्यक्ष डा. बद्रि केसी र अध्यक्ष कुमार पन्तले पनि साथ दिने गरेकाले संसारभरको संगठनमा नराम्रो असर परेको भन्दै संस्थाको विधान र गरिमा अनुसार अगाडि बढ्न सुझाब दिएका थिए ।
‘सौहाद्रपूर्ण रुपमा निर्वाचन भएको अमेरिकामा महासचिवकै कारण विवाद उत्पन्न भएको छ, महासचिव बस्ने देश बेलायतमै विवाद बढेको छ’ बैठकमा लामाले भने, ‘यी सबै विवादको जड महासचिव हो र महासचिवले जिम्मेवारी लिँदै विवाद समाधान गर्नुस्।’
बैठकमा सहभागी मध्यपूर्व उप संयोजक मनोज गोरखालीका अनुसार, महासचिव शर्माले उपाध्यक्ष लामाले लगाएको आरोपमा सत्यता नरहेको भन्दै फिर्ता लिन माग गरेका थिए । तर, उपाध्यक्ष लामाले आफूँले भनेका कुरा आरोप नभई यथार्थ भएकाले फिर्ता नलिने स्पष्ट पारेका थिए । सोही क्रममा महासचिव शर्मा र उपाध्यक्ष लामाबीच निकै बेर भनाभन नै चल्यो ।
उपाध्यक्ष लामाले अर्का उपाध्यक्ष बद्रि केसी अमेरिका पुगेर महाधिवेशन प्रतिनिधि (डेलिगेट्स) चयनका विषयमा भड्काउने खालको अभिव्यक्ति दिएर थप समस्या निम्त्याएको समेत बताएका थिए । उपाध्यक्ष लामाले आइसीसीले संशोधन गरेको विधान सरकारले प्रमाणीकरण नगर्दै अमेरिकाको निर्वाचन भएको र प्रमाणीकरण नहुँदैको विधान वाध्यकारी नहुने बताएका थिए ।
बैठकमा अध्यक्ष कुमार पन्तले भने एनसीसीहरुमा पदाधिकारीहरुले हस्तक्षेप गरेको र सदस्यता आवेदनमा देखिएको समस्याका बारेमा आफूँलाई कुनै जानकारी नभएको जवाफ दिएका थिए । ‘सदस्यता आफ्नै सिस्टममा चलेको छ भन्ने मलाई लागेको छ, कुनै पदाधिकारीहरुले हस्तक्षेप गरेको भन्ने मलाई जानकारी छैन’ बैठकमा अध्यक्ष पन्तले भनेका थिए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
