काठमाडौँ । नेकपा ओली समूहका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाखमा घोषणा गरिएको निर्वाचनको माहौल तयार पार्न स्थायी कमिटीका नेताहरुलाई निर्देशन दिएका छन्।
बुधबार बालुवाटारमा आफू निकट स्थायी कमिटी सदस्यहरुसँग ओलीले निर्वाचनको आधार तयार पार्ने गतिविधिमा केन्द्रित हुन निर्देशन दिएका हुन्।
माघे संक्रान्ति मनाउने गरी भनेर बोलाइएका स्थायी कमिटी सदस्यहरुसँग ओलीले अनौपचारिक छलफल गरेका थिए।
भूगोलका इन्चार्जहरुसँग संगठन निर्माण, भेला, बैठक तथा आमसभाबारे जानकारी लिएका ओलीले सर्वोच्च अदालत र निर्वाचन आयोगमा चलिरहेको प्रक्रियाबारे पनि सोधेका थिए।
प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको रिटबारे ओलीले सुवास नेम्वाङसँग जानकारी दिएका थिए।
निर्वाचन आयोगलाई दोस्रो पटक लेखिएको जवाफपत्रको अन्तर्वस्तुबारे नेम्वाङले ब्रिफिङ गरेका थिए। नेम्वाङले बुधबार मात्रै २१ पृष्ठ लामो पत्र बुझाएका थिए भने आयोगलाई निर्वाचनको तयारी नरोक्न आग्रह गरेका थिए।
संक्रान्ति मनाउने र अनौपचारिक कुराकानी पनि गर्ने भनेर विहान एघार बजेदेखि शुरु भएको भेटवार्तामा बालुवाटार दिउँसो अबेरसम्मै चल्यो। प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई समेत बालुवाटार बोलाएका थिए।
स्थायी कमिटीमा नरहेका मन्त्रीहरुलाई पनि ओलीले निर्वाचन केन्द्रित हुनेगरी गतिविधि गर्न सुझाव दिएका थिए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
