काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद् विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक कदमका रुपमा व्याख्या गरेको नेकपा (प्रचण्ड–नेपाल) समूहले शनिबार दोस्रो चरणका आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने भएको छ।
नेताहरुले दोस्रो चरणका आन्दोलनका कार्यक्रम जनपरिचालन सम्बन्धी हुने बताएका छन्। यसअघि यो समूहले मंगलबार देशभर विरोध प्रदर्शन गरेको थियो ।
बुधबार नै दोस्रो चरणका संघर्षका कार्यक्रम घोषणा गर्ने भनिए पनि अन्य दलसँग मिलेर संयुक्त कार्यक्रम दिने प्रयासमा प्रचण्ड–नेपाल समूह संवादमा लागेको थियो। तर, तत्काल अन्य दलसँग संयुक्त संघर्षका कार्यक्रममा सहमत नभएपछि शनिबार प्रचण्ड–नेपाल समूहले एकल रुपमा कार्यक्रम ल्याउन थालेको हो।
आन्दोलन परिचालन गर्न नेकपाले प्रवक्ता नारायणकाजी श्रेष्ठको नेतृत्वमा समिति गठन गरेको छ। श्रेष्ठले शनिबार समितिको बैठक बस्ने र तीन बजे पत्रकार सम्मेलनमार्फत आन्दोलनका कार्यक्रम सार्वजनिक गरिने बताए।
आन्दोलनका कार्यक्रम वडादेखि पालिकासम्म र प्रदेशदेखि केन्द्रसम्म जनपरिचालन हुने गरी घोषणा हुने आन्दोलन परिचालन समितिका सदस्यहरुको भनाइ छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
