काठमाडौँ । नेकपाका स्थायी समिति सदस्य तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पार्टी पुस १ गते नै वस्तुतः फुटिसकेको बताएका छन् । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ समूहले विभाजनको बीउ धेरै अगाडि नै रोपेको ज्ञवालीले बताएका हुन् ।
कान्तिपुर दैनिकसँगको अन्तरवार्तामा उनले भनेका छन्, ‘पार्टी वस्तुतः अस्ति १ गते नै फुटेको हो । त्यो दिन संसदीय दलको नेतालाई थाहै नदिईकन विशेष अधिवेशन बोलाउनका लागि साथीहरू कुद्नुभयो र आज छलफल चल्दै गर्दा अविश्वासको प्रस्ताव दर्ता हुन्छ भने साथीहरूले विभाजनको बीउ त धेरै अगाडि नै रोप्नुभएको हो भन्ने प्रस्टै छ नि ? त्यो भन्दा अगाडि आफ्नै पार्टीको अध्यक्ष र प्रधानमन्त्रीविरुद्ध जुन खालको भाषा शैली प्रयोग भएको छ, यो हिसाबले भन्दा त विभाजनको बीजारोपण धेरै अगाडि भएको हो।’
‘प्रधानमन्त्रीका सामु योबाहेक अर्को बाटो थिएन। साथीहरूले चौतर्फी घेराबन्दीबाट यस्तो बिन्दुमा पुर्याउनुभयो कि मुलुकलाई निकास दिन यो एउटा बाध्यकारी निर्णय लिनुपर्यो’ उनले भने, ‘नेताहरूलाई एउटा अवसर पनि छ । साथीहरूले केपी ओलीका कारण दुई तिहाइ आएको होइन भन्दै हुनुहुन्थ्यो, अब लोकप्रियता मापन गर्न, परीक्षण गर्न र विजयी हुनका लागि उहाँहरूलाई सहज बाटो खुलेको छ।
अब थप तिक्तता गरिरहनुपर्ने जरुरी भएन। खालि ध्यान केन्द्रित गरेर निर्वाचनतिर जानु नै उपयुक्त हुन्छ जस्तो लाग्छ । मेरो व्यक्तिगत मतको कुरै भएन, अहिले व्यक्तिगत प्रश्न पनि नसोध्नुस्। सरकारले निर्णय लियो । यो एक प्रकारको सामूहिक निर्णय हो । निर्णयमा पुग्नुभन्दा अगाडि विभिन्न ढंगले छलफल त हुन्छ नि ?’
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
