पोखरा । भारतले नेपालको कालापानी मिचेकोमा नेपाली तीब्र आक्रोशित भएका बेला नेपाल-भारत सीमा सुरक्षासम्बन्धी समन्वयात्मक बैठक बुधबार सुरु भएको छ। तर सीमा विवाद उक्त बैठकको एजेन्डा होइन। बैठकमा दुईतर्फका उच्च सुरक्षा अधिकारी सम्मिलित छन्। उनीहरुले पूर्वनिर्धारित सुरक्षा एजेन्डामाथि छलफल गरेका छन्।
तीन महिनाअघि नै निर्धारित एजेन्डा सीमावर्ती अपराधलाई नियन्त्रण, हातहतियार ओसारपसारमा रोकावट, लागुऔषध तथा मानवतस्करी नियन्त्रण विषयमा छलफल भएको सशस्त्र प्रहरी बलका प्रवक्ता डिआइजी सुरजकुमार श्रेष्ठले जानकारी दिए। ‘सीमा विवादबारे छलफल गर्ने आधिकारिक व्यक्ति हामी होइनौं,’ उनले भने, ‘सरकारले वार्ता गर्ने र सीमा यहाँसम्म हो भनेपछि हामीले सुरक्षा दिने हो, हाम्रो बैठकमा सीमा विवादको एजेन्डा हुने कुरा भएन।’
सीमामा सम्भावित अपराध नियन्त्रणमा कसरी समन्वय र सहयोग आदानप्रदान गर्ने भनेर छलफल गरिएको डिआइजी श्रेष्ठले बताए। बैठकमा नेपालको तर्फबाट सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल र भारततर्फबाट भारतीय सीमा सुरक्षा बल (एसएसबीका) महानिर्देशक (डिजी) कुमार राजेश चन्द्राले नेतृत्व गरेका छन्। नेपालको परराष्ट्र र गृह मन्त्रालय, राष्ट्रिय अनुसन्धान विभागका अधिकारी पनि सम्मिलित रहेको जानकारी डिआइजी श्रेष्ठले दिए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
