लन्डन । एनआरएन युकेको नयां कार्य समिति चुन्न शनिवार भएको मतदान पछि तीव्र विवाद उत्पन्न भएको छ ।
बेजिंगस्टोक मतदान केन्द्रमा एक पक्षीय रुपमा मतदान गरिएको भन्दै शेर सुनार समूहका मतदान प्रतिनिधि मुचुल्कामा हस्ताक्षर नगरीकनै बाहिरिएका थिए ।
राति करिब १० बजे तिर मत गणना गरिने स्थान अल्डरशटस्थित एम्पायर हलमा बेजिंगस्टोकमा खटिएका निर्वाचन समितिका प्रतिनिधि नरेश खपांगीले मतपेटिकाहरु बुझाउन ल्याउंदा शेर सुनार समूहले विरोध जनाएको थियो ।
त्यसपछि दुवै समूह बीच भिडन्तको स्थिति समेत देखिएको थियो । अल्डरशटस्थित एम्पायर हलमा ब्रिटिश पुलिस र उम्मेदवार तथा समर्थकहरुबीच केहि समय घम्साघम्सी समेत परेको थियो ।
अध्यक्षका उम्मेदवार शेर सुनार स्वयं तथा एनआरएन युकेको उपाध्यक्षमा नर्दर्न आयरल्यान्डबाट निर्विरोध निर्वाचित कानुनविद नारायण कंडेलले निर्वाचन समितिसंग वार्ता गरे पनि निचोड निस्किएको छैन ।
अध्यक्ष पदकी अर्की उम्मेदवार पुनम गुरुङको गृह क्षेत्र रहेको बेजिंगस्टोक मतदान केन्द्रमा बिहानैदेखि एकलौटी गर्ने प्रयास गरिएको शेर सुनार समूहले आरोप लगाएको छ । यसबारे छिट्टै लिखित उजुरी निर्वाचन समिति समक्ष बुझाइने शेर सुनार समूहका एक उम्मेदवारले बताए।
यसअघि ११ वटा बुथ केन्द्रहरूमा राति ८ बजे मतदान सकिएको निर्वाचन समितिले जनाएको थियो ।
ढिलो गरी मतदान शुरु भएको स्कटल्याण्डका २ ओटा मतदान केन्द्रहरुमा भने राति अबेर सम्म मतदानको समय बढाइएको छ ।
झन्डै साढे १३ हजार मतदाता रहेको युकेमा निर्वाचन समितिले १३ ओटा मतदान केन्द्रहरु तोकेको थियो ।
कतिपय केन्द्रमा बिहान मतदान शुरु हुनासाथै पासपोर्टसंगै यूटीलिटि बिल पनि देखाउनु पर्ने भने पछि कैयौं मतदाताहरु फर्किएका थिए ।
पछि निर्वाचन समितिले पासपोर्ट लगायतका फोटो आइडि हेरेर मतदान गर्न दिने नियम ल्याएको थियो ।
भर्खरै प्राप्त समाचार अनुसार पुनम गुरुङ समूहका प्रतिनिधिले साउथ ह्यारो मतदान केन्द्रमा चुनाव सकिए पछि मुचुल्कामा सही गर्न अस्वीकार गरेका छन् ।
शेर सुनार समूहको पकड रहेको ठानिने उक्त केन्द्रमा पुनम गुरुङ समूहका प्रतिनिधिले आफुहरुप्रति भेदभाव गरिएको भन्दै मुचुल्कामा सही गर्न अस्वीकार गरेको निर्वाचन गराउन खटेका एक स्वयंसेवकले बताए ।
बेजिंगस्टोकको अनियमिततालाई ढाकछोप गर्न पूनम समूहले साउथ ह्यारोमा मतदान पछि मुचुल्कामा सही गर्न अस्वीकार गरेको हुन सक्ने एक पर्यवेक्षकले जनाए।
पूर्व अध्यक्ष घले अल्डरशटमा
यसैबीच आफ्नी श्रीमती जमुना घले सहित गएको एक साता देखि बेलायतमै रहेका संघका पूर्व अध्यक्ष शेष घलेले शनिवार अल्डरशटस्थित मतदान केन्द्रमा गइ मतदान प्रक्रियाको अवलोकन गरेका थिए। घले दम्पति संगै एनआरएनएका केन्द्रिय उपाध्यक्ष कुल आचार्य र अमेरिकाज् क्षेत्रका क्षेत्रीय संयोजक गौरी जोशी पनि अल्डरशट पुगेका थिए।
एनआरएनएका केन्द्रिय अध्यक्ष पदका उम्मेदवार समेत रहेका कुल आचार्यले शनिवार बिहान साउथ ह्यारो मतदान केन्द्रमा पहिलो मत खसालेका थिए ।
निर्वाचन समितिका अनुसार निर्वाचनका लागि करिब १ सय भन्दा बढी निर्वाचन अधिकृत, पर्यवेक्षक तथा स्वयंसेवक खटाइएको बताइएको छ ।
एक सय भन्दा बढी उम्मेदवार मैदानमा छन् ।विश्वको सबैभन्दा बढी सदस्य भएको एन आर एन युके प्रति अहिले विश्वभरकै एन आर एन हरुको चासो रहेको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
