काठमाडौ । काठमाडौं, चितवन र पर्सामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका-९ सिनामंगलस्थित सडकमा बा.२ ख ४३१७ नम्बरको टिपरले बा.३८ प २३९३ नम्बरको मोटरसाइकललाई आइतबार राति ठक्कर दिँदा मोटरसाइकल चालक ४२ वर्षीय पछाडा भोटेको घटनास्थलमै मृत्यु भएको छ । साथै सोही टिपरले बा.८५ प ५६९ नम्बर र ना.४३ प ८७३५ नम्बरको मोटरसाइकललाई समेत ठक्कर दिएको थियो । टिपरको ठक्करबाट घाइते भएका मोटरसाइकलमा सवार अन्य ३ जनामध्ये २ जनालाई केएमसी अस्पताल सिनामंगल र १ जनालाई ट्रमा सेन्टरमा उपचारको लागि लगिएको छ । टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी चितवन, भरतपुर महानगरपालिका-४ शिवघाटस्थित सडकमा ना.६० प ३७३५ नम्बरको मोटरसाइकलले ना।५५ प ३५६८ नम्बरको स्कुटरलाई आइतबार राति ठक्कर दिई दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक भरतपुर महानगरपालिका-२३ जगतपुर बस्ने ४० वर्षीय सूर्यबन्धु खनाल क्षेत्रीको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको छ । दुवै सवारी साधन र स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पर्सा, पर्सागढी नगरपालिका-४ सवैयास्थित सडकमा ना.४८ प १३६४ नम्बरको मोटरसाइकल र ना.२२ प ८१६१ नम्बरको मोटरसाइकल एकआपसमा आइतबार राति ठक्कर खाँदा गम्भीर घाइते भएका ना.२२ प ८१६१ नम्बरका मोटरसाइकल चालक पर्सागढी नगरइलिका-३ बस्ने ३८ वर्षीय बाग बहादुर लामाको न्यूरो अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका ना.४८ प १३६४ नम्बरका मोटरसाइकल चालक पर्सागढी नगरपालिका-४ बस्ने २७ वर्षीय रवि साहको गण्डक अस्पताल वीरगंजमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
