चितवन । पत्रकार रवि लामिछाने, युवराज कँडेल र नर्स अस्मिता कार्कीविरुद्ध आत्महत्या दुरुत्साहन अभियोगमा मुद्दा दर्ता भएको छ। जिल्ला सरकारी वकिलको कार्यालय चितवनले प्रहरीको अनुसन्धान प्रतिवेदन अध्ययनपछि आत्महत्या दुरुत्साहनमा मुद्दा दर्ता गरेको हो।
जिल्ला प्रहरी कार्यालय र प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोले आइतबार नै सरकारी वकिलको कार्यालयमा आफ्नो अनुसन्धान प्रतिबेदन बुझाएको सहायक जिल्ला न्यायाधीवत्ता प्रकाश थापाले जानकारी दिए।
यो मुद्दाको बहस न्यायाधीश हेमन्त रावलको इजलासमा तोकिएको अधिवक्ता सरिता सापकोटाले जानकारी दिइन्। उनका अनुसार आइतबार बहस सकिने सम्भावना छैन।
तीन जनाको बयान लिनुपर्ने भएकाले समय लाग्ने र बहस भोलिमात्रै हुने उनले बताइन्। बहस नसकिएको कारण देखाउँदै पक्राउ परेका तीन जनाविरुद्ध म्याद थप गरिने छ र हिरासतमै फर्काइने छ।
गत साउन २० गते चितवनको एक होटलमा मृत भेटिएका शालिकराम पुडासैनीको भिडियोको आधारमा पत्रकार लामिछानेसहित तीन जना पक्राउ परेका हुन्। उनीहरुविरुद्ध दोस्रो पटक थप गरिएको ५ दिनको म्याद आज सकिँदैछ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
