राजतन्त्र फाले पनि राजतन्त्रात्मक प्रवृत्ति फाल्न सकिएन : नेता पौडेल

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले मुलुकबाट राजा फालिए पनि राजतन्त्रात्मक प्रवृत्ति फाल्न नसकिएको बताएका छन्। ‘नाइन सेभेन सेभेन भेन्चर्स’ ले शुक्रबारबाट भृकुटी मण्डपमा सुरु गरेको ‘नेपाल एजुकेसनल फेस्टिभल’ को उद्घाटन गर्दै नेता पौडेलले मुलुकमा अहिले पनि राजतन्त्रात्मक प्रवृत्ति यथावत् रहेको बताएका हुन्।

मुलुकले नयाँ संविधान प्राप्त गरे पनि नयाँ प्रवृत्तिको राजनीति प्राप्त गर्न नसकेको उनको भनाइ थियो। “मुलुकले नयाँ संविधान प्राप्त गर्यो, तर नयाँ प्रवृत्तिको राजनीति प्राप्त गर्न सकेको छैन। हामीले राजा फाल्यौं तर राजतन्त्रात्मक प्रवृत्तिलाई फाल्न सकेका छैनौं,” नेता पौडेलले भने, “हामीले मुलुकको सही गन्तव्य अहिले पनि पहिल्याउन सकेका छैनौं । मुलुकको प्राथमिकता हामीले अहिले पनि छुट्याउन सकिरहेका छैनौं।”

Advertisement

उनले समृद्धिको शब्द वाचन गरेर मुलुकले समृद्धि प्राप्त गर्न नसक्ने भन्दै समृृृद्धिका लागि विशेष योजना ल्याउन आवश्यक रहेकोमा जोड दिए । राजनीतिले समाजको वास्तविक विषयहरुलाई उठाउन नसकेका कारण समाज एकातिर र राजनीति अर्कोतिर गइरहेको पौडेलले बताए।

उनले कुनै पनि दलको नाम नलिएरै अब राजनीतिमा नयाँ नेतृत्व आवश्यक रहेकोमा जोड दिए। नयाँ, निरन्तरता नभएको तर विषयहरु धेरै भएको, समाजलाई बुझेको, समस्यामात्रै उठाउन सक्ने नभएर समाधान दिनसक्ने नेतृत्व नेपाली राजनीतिलाई आवश्यक परको नेता पौडेलको भनाइ थियो।

“राजनीतिले समाजको वास्तविक विषयहरुलाई उठाउन सकेको छैन् । समाज एकातिर राजनीति अर्कोतिर छ। राजनीतिमा त्यसकारण पनि नयाँ नेतृत्व आवश्यक छ,” पौडेलले भने, “देशलाई चाहिएको कुरा जसले गर्न सक्छ त्यो नेतृत्वमा आउन सक्छ। लामो समय निरन्तरता दिएको, जेलनेल बसेको, पार्टीमा धेरै अगाडिदेखि लागेको मान्छेले मात्रै नेतृत्व लिन सक्न भन्ने कुरा अब विस्तारै गलत हुँदै गइरहेको छ।”

नेपालको राजनीतिलाई चाहिएको नेतृत्व युवा माझबाट आउनुपर्ने उनको आशय थियो । मुलुकले युवा समुदायबाट राजनीतिक नेतृत्व खोजिरहेकाले युवाले राजनीति प्रति चासो राख्नुपर्ने उनको भनाइ थियो।
“हामीलाई चाहिएको नेतृत्व युवाबाट आउन जरुरी छ । त्यसकारण युवा समुदायले राजनीति प्रति चासो राख्न आवश्यक छ । युवा समुदाय हिजोभन्दा धेरै योग्य छ । हिजो यही उमेरका मान्छेहरु यति योग्य हुनुहुन्थेन,” पौडेलले भने।

नेपालमा शिक्षाको विकास भएका कारण र नेपालमै गुणनस्तरीय शिक्षा प्राप्त गर्ने अवसर भएका कारण युवा जनशक्ति हिजोभन्दा चेतनशील, सचेत र योग्य स्थितिमा रहेको उनको भनाइ थियो।

More News last news
Loading...