टिपरबाट घुस लिँदा लिँदै ५ जना प्रहरी अख्तियारको फन्दामा

काभ्रेपलाञ्चोक । टिपरबाट घुस लिँदै गरेको अवस्थामा काभ्रेपलाञ्चोकमा कार्यरत पाँच प्रहरीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको एक टोलीले प्रक्राउ गरेको छ।

आयोगको टोलीले काभ्रेपलाञ्चोकस्थित अरनिको तथा हेलम्बू राजमार्गको विभिन्न पोष्टमा कार्यरत प्रहरीलाई टिपरसँग घुस लिँदालिँदै पक्राउ गरेको हो। बिहीबार साँझसम्मको स्थलगत अनुगमनका क्रममा तीन ट्राफिक तथा दुई जनपद प्रहरी टिपर चालकबाट पैसा लिइरहेको अवस्थामा पक्राउ गरिएको अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिए।

Advertisement

उनका अनुसार मण्डनदेउपुर नगरपालिकास्थित हेलम्बू राजमार्गमा पर्ने हिगुवापाटी प्रहरी चौकीमा कार्यरत प्रहरी जवान तेजप्रसाद भट्टराई, जिल्ला ट्राफिक प्रहरी कार्यालय बनेपामा कार्यरत हवल्दार रामहरि मानन्धर र जवान हरिप्रसाद बाँनियालाई टिपर चालकसँग घुस लिँदालिँदै पक्राउ गरिएको हो।

साथै, पाँचखाल प्रहरी चौकीमा कार्यरत हवल्दार भक्तबहादुर हायू र जवान ज्ञानबहादुर लाम्गाडेलाई अरनिको राजमार्गस्थित केराघारीबाट पक्राउ गरिएको छ ।

उजुरीका आधारमा स्थलगत अनुगमन गर्दा ती प्रहरीलाई पक्राउ गरिएको प्रवक्ता कोइरालाले बताए। उनका अनुसार ओभरलोड तथा सडकमा पानी चुहाउन नियन्त्रण गरेको भन्दै ट्राफिक तथा जनपद प्रहरीले टिपर चालकसँग रकम असुल्दै आएका थिए।

उजुरीमा प्रहरीले प्रतिटिपर चालकसँग मासिक रु दुई हजार असुल्दै आएको उल्लेख गरेपछि स्थलगत अनुगमन गरिएको अख्तियारले जनाएको छ। पक्राउ गरिएका प्रहरीले टिपरसँग रु दुई हजार लिइएको अवस्थामा रङ्गेहात पक्रिएको हो । काभ्रेपलाञ्चोकस्थित अरनिको र विपी राजमार्गमा दैनिक एक हजार ५०० टिपर गुड्ने गर्दछन्।

More News last news
Loading...