काठमाडौं । सिंगापुरमा जारी आईसीसी टी–ट्वान्टी विश्वकप छनोट अन्तर्गतको एसिया फाइनलमा नेपालले पहिलो जित हात पारेको छ ।
बुधबार भएको दोस्रो खेलमा मलेसियालाई ७ विकेटले पराजित गर्दै नेपालले जित हात पारेको हो । ईण्डियन एसोसियसन क्रिकेट मैदानमा मलेसियाले दिएको ८४ रनको लक्ष्य नेपालले ८ ओभरमा मात्र ३ विकेट गुमाएर पुरा गर्यो । नेपालको जितमा कप्तान ज्ञानेन्द्र मल्लले कीर्तिमानी अर्धशतकीय खेले । योसंगै मल्ल नेपालबाट टी–ट्वान्टी अन्तराष्ट्रियमा सर्वाधिक छिटो अर्धशतक बनाउने पहिलो खेलाडी बने ।
पारस खड्का चोटका कारण मैदानबाहिर रहेपछि मलेसियाविरुद्ध कप्तानी गरेका मल्लले २० बलमा ५१ रन जोड्दै कीर्तिमानी अर्धशतक बनाए । मल्ल २१ बलमा ५ चौका र ३ छक्कासहित ५१ रनमा क्याच आउट भए । यसअघि छिटो अर्धशतक विनोद भण्डारीको नाममा रहेको थियो । विनोदले गत साता मलेसियाविरुद्धको सिरिजमा २५ बलमा अर्धशतक बनाएर कीर्तिमान बनाएका थिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले पुरै ९ ओभर खेल्दै ७ विकेट गुमाएर ८३ रन बनाएको थियो । वर्षाले प्रभावित गरेपछि झन्डै ३ घण्टा ढिला सुरु भएको खेल ९ ओभरमा झारिएको थियो । जितसंगै नेपालले २ खेलबाट २ अंक जोडेको छ । र, नेपाल अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।
यसअघि मंगलबार भएको पहिलो खेलमा नेपाल कतारसँग ४ विकेटले पराजित भएको थियो । मलेसियाको यो पहिलो हार हो । पहिलो खेलमा मलेसियाले कुवेतलाई हराएको थियो । दोस्रो स्थानको मलेसियाको २ अंक छ । अब नेपालले कुवेतसँग शनिबार र आइतबार सिंगापुरसँग खेल्नेछ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
