काठमाडौं । पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नेपाल यातायात मजदुर संगठन नेपालका मजदुरहरुको सवैभन्दा प्रभावशाली संगठन भएको भन्दै यसको सदस्य संख्या आफैंमा गर्व गर्न लायक रहेको बताउनुभयो ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको ४० औं स्थापना दिवसको अवसरमा राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेकपाका बरिष्ठ नेता नेपालले १ लाख ६० हजारको हाराहारीमा शुल्क तिर्ने सदस्य हुनुले यातायात मजदुर संगठनको शक्तिलाई प्रदर्शित गर्ने भन्दै संगठनलाई जीवन्त राख्न नियमित रुपमा वैचारिक प्रशिक्षणहरु सञ्चालन गरिरहन सुझाव दिनुभयो ।
नेपालले वितेका ४० बर्षमा यातायात मजदुरहरुले आफ्नो पेशागत अधिकार तथा राजनीतिक अधिकार प्राप्तीका लागि गरेको लडाईंलाई नेपालका राजनीतिक दलहरुले उच्च मूल्याङ्कन गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले यातायात मजदुर संगठनको प्रयत्नकै कारण हिजोका दिनमा भन्दा अहिले यातायात मजदुरहरु प्रति हेर्ने दृष्टिकोण बदलिएको भन्दै पेशालाई सम्मानित बनाउन उल्लेख्य भूमिका खेलेको भन्दै प्रशंसा पनि गर्नुभयो ।
उहाँले आफ्ना नागरिकको हित गर्नु राज्यको कर्तव्य हो भन्दै नेकपा नेतृत्वको सरकारले त श्रमजीवि वर्गको हितमा आफूलाई केन्द्रीत गर्नु अझ ठूलो कर्तव्य रहेको बताउनुभयो । उहाँले यातायात क्षेत्रले अहिले पनि थुप्रै जायज मागहरु उठाई रहेको भन्दै तिनलाई यथोचित सम्वोधन गर्न सरकारलाई आग्रह गर्नुभयो ।
नेता नेपालले आफूमा रहेको कमिकमजोरी पत्ता लगाउँदै त्यसलाई सुधार्नेले मात्र प्रगति गर्नसक्ने भन्दै त्यसमा ध्यान दिन पनि संगठनका अगुवाहरुलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा विशिष्ट अतिथिका रुपमा बोल्दै नेकपाका स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले कामप्रतिको सम्मानमा वृद्धि गर्न जरुरी रहेको धारणा राख्नुभयो । उहाँले काम गरेर खानेले लाज मान्न नहुने भन्दै ठगि खानेहरुले मात्र लाज मान्नु पर्ने विचार राख्नुभयो ।
उहाँले यातायात मजदुरहरुले काम गरेर खाने भन्दै आफ्नो कामप्रति सम्मान गर्न आग्रह गर्नुभयो । उहाँले कामप्रतिको सम्मान गर्ने संस्कृतिको विकास गर्न सकेमा बैदेशिक रोजगारमा जाने अभ्यासमा पनि कमि आउने विचार राख्नुभयो ।
नेता पाण्डेले विश्वमै प्रविधिको विकास र अभ्यास बढिरहेको भन्दै त्यसको प्रभाव नेपालमा पनि पर्ने हुँदा भविष्यमा आइपर्न सक्ने चुनौतिको सामनाका लागि मजदुर तयार रहनु पर्ने बताउनुभयो । उहाँले कतिपय मुलुकमा चालकविहिन गाडीहरु सञ्चालनमा आइसकेको भन्दै त्यो अवस्थामा कसरी आफ्नो पेशालाई निरन्तरता दिने भनेर तयारी गर्नु आवश्यक रहेको धारणा राख्नुभयो ।
कार्यक्रममा जिफन्टका पूर्व अध्यक्ष एवं साँसद मुकुन्द न्यौपानेले नेपालमा राजनीतिक परिवर्तन भएपनि आर्थिक परिवर्तन हुन बाँकी नै रहेको भन्दै अव त्यसका लागि भूमिका खेल्ने समय आएको धारणा राख्नुभयो । उहाँले मुलुकमा कर्मचारीको जति तलव बढ्छ त्यो भन्दा धेरै महंगी बढ्ने गरेको भन्दै यसलाई नियन्त्रण गर्न आवश्यक रहेको बताउनुभयो ।
जिफन्ट अनुशासन आयोग प्रमुख विष्णु लम्सालले यातायात मजदुरको जीवन समृद्ध बनाउन संगठनले खेल्दै आएको भूमिकाको प्रशंसा गर्नुभयो । उहाँले सदस्य संख्याका हिसावले जिफन्टको १ नम्वर यूनियन नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको भूमिका अझ धेरै रहेको बताउनुभयो । यातायात क्षेत्रका अझ पनि थुप्रै समस्याहरु विद्यमान रहेको भन्दै तिनको निराकरणका लागि जुट्न उहाँले आग्रह गर्नुभयो ।
कार्यक्रममा बोल्दै जिफन्ट उपाध्यक्ष दिपक पौडेलले जिफन्टको खम्वाका रुपमा रहेको यूनियनले ४० औं स्थापना दिवस मनाइरहँदा अनौपचारिक क्षेत्रमा कसरी सामाजिक सुरक्षा लागु गर्न सकिन्छ भनेर सरकारलाई बाटो देखाउन जरुरी रहेको धारणा राख्नुभयो । उहाँले यातायात मजदुर संगठनको देशव्यापी रुपमा बलियो संरचना रहेको भन्दै त्यसको उचित परिचालनमा जोड दिनुभयो । उहाँले यातायात मजदुरलाई जिम्मेवार बनाउँदै यातायात क्षेत्रमा परिवर्तनका लागि संगठनले सञ्चालन गरिरहेको अभियानको सराहना गर्नुभयो ।
कार्यक्रममा अध्यक्षको किनोट प्रस्तुत गर्दै संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले संगठनका अग्रज नेताहरुको योगदानको स्मरण गर्दै थुप्रै चुनौतिसँग लड्दै संगठन अहिलेको अवस्थासम्म आईपुगेको स्मरण गर्नुभयो । उहाँले संगठन केहि समययता अलिक बढी पेशागत विषयमा केन्द्रीत रहेको भन्दै अव भनें राजनीतिक विषयमा पनि उत्तिकै केन्द्रीत रहने जानकारी गराउनुभयो ।
अवको कम्यूनिष्ट पार्टीभित्र मजदुरको बाहल्यता हुनुपर्ने भन्दै यातायात मजदुरका समस्याको फेहरिस्त उहाँले प्रस्तुत गर्नुभयो । कानून बनाउने विषयमा पनि धेरै कुरा सुधार गर्नुपर्ने उहाँको भनाई थियो । कार्यक्रममा नेकपा, ललितपुरका जिल्ला कमिटी अध्यक्ष हरिकृष्ण व्यञ्जनकार, क्यूपेक नेपालका अध्यक्ष नरनाथ लुईंटेल, अखिल नेपाल यातायात मजदुर संघका उपाध्यक्ष रामचन्द्र कार्की, मेडिसिटी अस्पतालका सञ्चालक समिति अध्यक्ष उपेन्द्र महतो लगायतले बोल्नु भएको थियो ।
यातायात मजदुरहरुलाई आर्थिक सहयोग
संगठनले आफ्नो स्थापना दिवसको अवशरमा केहि मजदुरहरुलाई उपचारका लागि आर्थिक सहयोग हस्तान्तरण गरेको छ । सो अवशरमा अरनिको ट्रक ईकाईका तर्फबाट शशी खड्का(४२ हजार), नरेन्द्र श्रेष्ठ(४० हजार), टीकाराम गुरुङ(३७ हजार), सोमवारे तामाङ(२२ हजार १ सय ४), टीकाराम दमाई(७ हजार २ सय) सहयोग गरेको थियो ।
यसैगरी बसपार्कमा बुकिङको काम गर्ने अर्जुन बस्नेतलाई संगठनको केन्द्रीय कमिटीका तर्फबाट रु १५ हजार उपचार खर्च हस्तान्तरण गरियो ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
