सरकारले दुई तिहाईको आडमा एकाधिकार र अधिनायकवाद लाद्न खोज्योः प्रदीप पौडेल

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले वर्तमान सरकारले दुई तिहाईको आडमा एकाधिकार र अधिनायकवाद लाद्न खोजेको आरोप लगाएका छन्। उनले सरकारको विरोधमा कांग्रेस सडकमा उत्रिने चेतावनी समेत दिएका छन्।

शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता पौडेलले यस्तो बताएका हुन्। सरकारले गुठीसम्बन्धी विद्येयक, मिडिया काउन्सिललगायतका विभिन्न विद्येयक बनाउँदा सरकारले सरोकारवालाहरुसँग छलफल नै नगरेको र सबै ठाउँमा नियन्त्रण गर्न खोजेको उनको आरोप छ।

Advertisement

साक्षात्कारमा बोल्दै उनले सरकारले महत्वकांक्षी घोषणा गर्ने तर बोलेका कुरा पूरा नगरेको पनि गुनासो पोखे। उनले भने,‘नेकपाका नेताहरुले पनि चुनाव ताका महत्वकांक्षी अभिव्यक्ति दिए। उहाँहरुको घोषणापत्र नै महत्वकांक्षा थियो ।’ वर्तमान सरकारसँग मुलुकको विकास र समृद्धिको लागि काम गर्ने सुनौलो अवसर रहेको भएपनि त्यसको सदुपयोग गर्न नसकेको उनको आरोप छ।

सरकार बनेको १६ महिना बितिसक्दापनि अहिलेसम्म एउटापनि राम्रो काम गर्न नसकेको पनि पौडेलको आरोप छ । उनले भने,‘सडकको नाम परिवर्तन गर्दैमा केही हुँदैन, यो नयाँ काम होईन ।’ यो वर्षको बजेटमा पनि नयाँ कुरा केही नआएको उनको भनाई छ ।

‘बजेट र नीति तथा कार्यक्रम केही पनि प्रगतिशील छैनन्’-उनले थपे । सरकारले गुठीलाई पनि आफ्नो प्रभावमा विस्तार गर्न चाहेको पौडेलको आरोप छ। उनले भने,‘सरकारले संस्कृतिमाथि बलात् हस्तक्षेप गर्न खोज्यो ।’ वर्तमान सरकार सफल हो भनेर भन्न सक्ने र गर्न सक्ने कुनै तर्कको आधार नै नभएको पनि उनले जिकिर गरे । ओली सरकार पूर्ण रुपमा असफल भएको उनको दाबी छ । ‘सरकारले व्यवस्था र संविधानमाथि नै आक्रमण गर्न खोजेको छ।’,उनले थपे ।

पौडेलले नेकपाभित्रपनि सांसदहरुले विद्रोह गर्ने अवस्था सिर्जना भएको टिप्पणी गरे । प्रधानमन्त्री केपी शर्मा ओली सिमित स्वार्थ समूहको घेराभित्र रहेको उनको भनाई छ । सरकारले सुनकाण्ड, फोरजी काण्ड, बालुवाटार जग्गा प्रकरण, टुँडीखेल काण्डमा किन ढाकछोप गर्न खोजेको ? भन्दै उनले प्रश्न गरे ।

ओली सरकार समयमै नसच्चिने हो भने मुलुकमा ठूलो दुर्घटना हुनसक्ने खतरापनि पौडेलले औंल्याए । राष्ट्रपति र उपराष्ट्रपतिहरुले सुविधा विस्तार गर्नमा मात्रै ध्यान केन्द्रित गरेको पनि उनको आरोप छ । उनले भने,‘पहिले पहिले राजा र अहिलेको राष्ट्रपतिको सवारी उस्तै छ ।’

आफ्नो पार्टी सडकमा नजाँदा जनता आफैं सडकमा आउनेपनि उनले बताए । उनले भने,‘त्यसैले हामी सडकमा जानुको विकल्प छैन । गुठी विद्येयकको विरुद्धमा भएको सडक संघर्ष त सामान्य हो ।’

More News last news
Loading...