काठमाडौं । २५ देशको यात्रामा निस्किएका ‘बाईकिङ क्विन्स’ को नामले चिनिने तीन भारतीय महिला बाईकर्सहरुलाई शुक्रबार काठमाडौंमा स्वागत तथा सम्मान गरिएको छ । ‘वुमेन्स प्राईड’ नामक सन्देश बोकेर उनीहरु तीन महादेशको यात्रामा निस्किएका हुन् ।
उक्त ग्रुपकी संस्थापक डा. सारिका मेहता र उनका साथीहरु बाईक राईडर्सद्धय जिनाल साह र रुतली पटेलले ९० दिनमा २५ राष्ट्रमा २५ हजार किलोमिटरको यात्रा गर्नेछन् । बुधबार भारतबाट सुरु भएको उक्त यात्रा लण्डमा पुगेर समापन हुनेपनि उनीहरुले जानकारी दिए । उक्त यात्राको समापन भने आगामी अगष्टको २६ तारिखमा हुनेछ ।
शुक्रबार रिपोर्टर्स क्लब नेपालमा उनीहरुको स्वागत तथा सम्मानमा देव भूमिको प्रायोजनमा वातावरण जिउने आधार र कर्मशिल समाज नेपालले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले उनीहरुलाई साहसिक यात्राको लागि शुभकामना दिए ।
मन्त्री विश्वकर्माले भने,‘म तपाईहरुलाई नेपालमा स्वागत गर्न चाहन्छु, तपाईहरुको यो साहसिक यात्राको लागि पनि हार्दिक शुभकामना दिन चाहन्छु । तपाईहरु महिला सशक्तिकरणको लागि महत्वपूर्ण सन्देश बोकेर यो साहसिक यात्रामा अघि बढ्नुभएको छ । यो पूरा विश्वको लागि नै गर्वको विषय हो ।’
कार्यक्रममा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी नेतृ एवम् सांसद पुष्पा भुषाल, हिसानका अध्यक्ष रमेश सिलवालले उनीहरुलाई साहसिक यात्राको सफलताको लागि शुभकामना प्रदान गरेका थिए ।
उनीहरुले भारत सरकारको ‘बेटी बचाओ, बेटी पढाओ’ अभियानको पनि सन्देश विश्वभरि फैलाउने उद्देश्यसहित यो साहसिक यात्रा गर्नेछन् । उनीहरुले सन् २०१६ मा पनि विभिन्न दश देशको भ्रमण गरिसकेका छन् । त्यतिवेला उनीहरुले भारतबाट यात्रा सुरु गरेर श्रीलंकामा पुगी समापन गरेका थिए ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
