चितवन । धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गर्न लागेको निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको बार भत्काउने मुख्य अभियुक्त नेकपाका कार्यकर्ता रहेको पुष्टी भएको छ।
बार भत्काउने कार्यमा संलग्न पार्टीका स्थानीय नेता प्रकाश कँडेलसहित दुई जनालाई पार्टीले निलम्बन समेत गरेको छ।
पार्टीले कँडेललाई पूर्णरुपमा निलम्बन गरेको छ भने सोही घटनामा संलग्न भैरव बस्ताकोटीलाई दुई महिनाका लागि पार्टी सदस्यबाट निलम्बन गरेको हो।
पार्टीले आज जारी गरेको विज्ञप्तिमा घटनामा संलग्न सबैलाई कानूनी कारवाहीको माग गर्दै क्षतिपूर्ति भराउनसमेत आग्रह गरेको छ । पार्टीले सो घटनाप्रति दुःख व्यक्त गरेको छ।
जिल्ला अध्यक्ष यमबहादुर परियार ‘इन्द्रजीत’ द्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा नेकपाले धुर्मुस सुन्तली फाउण्डेशनलाई यस्ता घटनाबाट विचलित नहुन आग्रह गर्दै हरदम साथ र सहयोगका लागि पार्टी तयार रहेको प्रतिबद्धता जनाएको छ। कँडेल र बस्ताकोटीसहित १७ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ।
उनीहरुले बुधबार बिहान निर्माणाधीन रङ्गशालाको बार र सोही ठाउँमा यसअघि भएको तारे बार डोजर लगाएर भत्काएका थिए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
