काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्तासँगको दोहोरो मुठभेडमा प्रहरीको गोली लागेर विप्लव समूहका एक कार्यकर्ता घाइते भएको प्रहरीले बताएको छ ।
हतियारधारी समूह र प्रहरीबीच दोहोरो मुठभेड हुँदा विप्लव समूहका कार्यकर्ता षडानन्द नगरपालिका–२ कुदाक काउलेका तिर्थराज घिमिरे घाइते भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार घिमिरेको खुट्टामा गोली लागेको छ । उनलाई उपचारका लागि एम्बुलेन्सबाट भोजपुर अस्पताल ल्याइँदै गरेको बताइएको छ । उनको साथमा हतियारसमेत फेला परेको प्रहरीको भनाइ छ।
मंगलबार दिउँसो करिब सवा १ बजेतिर भोजपुरको टेम्केमैयुङ गाउँपालिका–२ छिनामखुस्थित धोद्रे जङ्गलमा विप्लवका हतियारधारी लडाकु समूहसँग प्रहरीको जम्काभेट भएको भोजपुरका प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले बताए।
छिनामखु र खोटाङको केपलासगढी गाउँपालिकाको सीमा क्षेत्रमा पर्ने भिडन्तस्थलमा उनीहरुले प्रहरीमाथि फायर खोलेको र जवाफी कारवाहीमा घिमिरेलाई गोली लागेको प्रजिअ खतिवडाले दावी गरेका छन्। दर्जनौंको समूहमा रहेका हतियारधारी समूह त्यहाँबाट जङ्गलको बाटो हुँदै भागेको पनि उनको भनाइ छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
