काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेसले काठमाडौँमा क्षेत्रीयस्तरको राष्ट्रिय जनजागरण अभियान शुरुआत गरेको छ । सङ्घीय संसद् प्रतिनिधिसभामा नेपाली काङ्ग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले काठमाडौँको क्षेत्र नं ३ बाट आज जागरण अभियान शुरु गर्नुभएको हो।
नेपाली काङ्ग्रेस ३ नं क्षेत्रीय समितिले आज जोरपाटीमा आयोजना गरेको कार्यक्रममा उहाँले हरेक स्थानमा पुगेर नागरिकका कुरा सुनिने बताउनुभयो। सरकार संविधानविपरीत प्रेस स्वतन्त्रता तथा मानव अधिकारलाई कुण्ठित गर्न लागेकामा प्रमुख प्रतिपक्षी दलले खबरदारी गरिरहने उहाँले बताउनुभयो।
पार्टी केन्द्रीय सदस्य अम्बिका बस्नेतले जागरणका माध्यमबाट नेपाली काङ्ग्रेसले आफैँ परिवर्तन हुन लागेको बताउनुभयो। कार्यक्रममा नेपाली काङ्ग्रेस काठमाडौँका सभापति सबुज कृष्ण बानियाँ, ३ नं क्षेत्रीय सभापति सन्तोष चालिसे, सचिव शान्ति नेपाल लगायतले जनताले भोग्नुपरेका समस्याको जानकारी लिन वडा एवं टोलस्तरमा पुगेर जनगुनासा सङ्कलन गर्न लागिएको बताउनुभयो।
वैशाख २५ गते शुरु भएको पहिलो चरणको जागरण अभियान जेठ २५ गते सकिनेछ । दोस्रो चरणको जागरण अभियान बिपी जयन्तीका अवसरमा भदौ २४ गतेदेखि असोज ७ गतेसम्म गरिने छ । तेस्रो चरणको जागरण अभियान पुस ७ गते शुरु गरी मेलमिलाप दिवसका अवसरमा पुस १६ गते समापन गर्ने नेपाली काङ्ग्रेसले जनाएको छ।
नेपाली काङ्ग्रेस केन्द्रीय कार्यालयले जनजागरणका अवसरमा मञ्चमा पाँच जनाभन्दा बढी नराख्ने, एक जना महिला अनिवार्य राख्नेलगायत निर्देशन दिएपछि कार्यक्रम छोटो र प्रभावकारी हुन थालेको अनुभव कार्यकर्ताले सुनाए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
