मिडिया काउन्सिलसम्बन्धी विद्येयक खारेज गर्नुपर्छ : शाही युवा शक्ति नेपाल

‘मोवाईलको रिङ टोनमा श्रीमान गम्भिर राख्न आग्रह’

काठमाडौं । शाही युवा शक्ति, नेपालले प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्नेगरि सरकारले मिडिया काउन्सिलसम्बन्धी विद्येयक ल्याउन लागेको भन्दै तत्काल उक्त विद्येयक खारेजीको माग गरेको छ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै शाही युवा शक्ति, नेपालले यस्तो माग गरेको हो । लोकतन्त्रको आवरणमा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले मिडियालाई नै नियन्त्रण गर्नेगरि विद्येयक ल्याउन लागेको अध्यक्ष पशुपति खड्काले आरोप लगाए ।

Advertisement

खड्काले भने,‘निरंकुश ओली सरकारविरुद्ध सम्पूर्ण नेपाली जनतालाई हामी सडकमा उत्रिनको लागि यही मञ्चबाट आग्रह गर्दछौं । अहिले आन्दोलन नगरे मुलुक झन एकपछि अर्को गरि ठूलो अप्ठ्यारो र भूमरीमा फस्छ ।’

उनले अहिलेपनि जनताको चाहना भनेको मुलुकमा राजसंस्था पूर्नस्थापना होस भन्ने नै भएको सुनाए । खड्काले थपे,‘विदेशीको ईशारामा लादिएको यो गणतान्त्रिक व्यवस्था देश र जनताको लागि धेरै महँगो सावित भैसक्यो ।

अब देशले यो व्यवस्था धान्न सक्दैन् । त्यसैले राजसंस्था चाहिन्छ । राजा भनेको मुलुकको अभिभावक हो । अहिले मुलुक र हामी नेपाली जनता राजा नहुँदा टुहुरो भएका छौं ।’

उनले लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित रहेर आफ्ना संगठनका सदस्यहरुले गतिविधि गर्दापनि ओली सरकारले निरंकुशता लादेर अपहरण शैलीमा गिरफ्तार गरेकोमा गम्भिर आपत्ति जनाए ।

उनले भने,‘श्रीमान गम्भिर गीत बजाउँदा गणतान्त्रिक सरकार थर्कमान भएर मुकदर्शक भयो । र, हाम्रो संगठनका पश्चिमाञ्चल प्रमुख प्रित्तम केसी र रुपन्देही जिल्ला अध्यक्ष महेन्द्र विश्वकर्मालाई जबरजस्ती अपहरण शैलीमा पक्राउ गरि मुद्दा चलाईएको छ । यो सरकारको कायरता हो । हामी हाम्रो आन्दोलनका कार्यक्रमहरुलाई झनै सशक्त बनाउँछौं । यो विदेशीको ईशारामा चल्ने सरकारसँग एक ईन्चपनि डराउँदैनौं ।’ खड्काले सम्पूर्ण नेपाली जनताले अब आफ्नो मोवाईलको ‘रिङ–टोन’ मा श्रीमान गम्भिर नेपाली राष्ट्रिय गान राख्नुपर्ने र हरेक चोकमा यो धुन गुञ्जाउनुपर्ने बेला आएकोले सोहीअनुसारको अपिलसमेत गरे ।

कार्यक्रममा संगठनका महासचिव कृष्णराज थापाले सरकारले आफ्ना नेता तथा कार्यकर्ताहरुलाई निःशर्त रिहाई गर्नुपर्ने माग गरे । त्यस्तै, सरकारले विद्येयकमार्फत प्रेसमाथि लगाउन खोजेको अंकुशको पनि उनले विरोध गरे। उनले भने,‘सरकारले ल्याउन लागेको मिडिया काउन्सिलसम्बन्धी विद्येयक प्रेसमैत्री हुनुपर्छ । हामी प्रेस स्वतन्त्रताको पक्षमा छौं ।’

More News last news
Loading...