इङ्ग्ल्यान्ड । डेभिड बेक्ह्यामले गाडी चलाउँदा मोबाइल फोनको प्रयोग गरेपछि उनी कारबाहीमा परेका छन्। उनलाई छ महिनाको सवारी चलाउन प्रतिबन्ध लगाइएको छ।
उनी इङ्ग्ल्यान्डका राष्ट्रिय फुटबल टोलीका भूतपूर्व क्याप्टेन हुन्। उनले सन् २०१८ को नोभेम्बर २१ मा सेन्ट्रल लन्डनमा आफ्नो बेन्ट्ली कार चलाउँदै गर्दा फोन प्रयोग गरेका थिए। अदालतका अनुसार गाडी चलाउँदा उनले फोन उठाएको तस्बिर एक व्यक्तिले खिचेका थिए।
यसअघि पनि तीव्र गतिमा गाडी चलाएकाले बेक्ह्यामलाई कारबाही गरिएको थियो।
जरिवाना
गाडी चलाउँदा फोन चलाएको प्रमाणित भएकाले ४४ वर्षीय बेकह्यामले यस ७५० पौन्ड स्टर्लिङ जरिवाना पनि तिर्नुपर्नेछ। अभियोजन प्रक्रियामा भएको खर्चका लागि १०० पाउन्ड र अतिरिक्त ७५ पौन्ड तिर्नुपर्नेछ।
न्यायाधीश क्याथरिन मोरले त्यतिखेर सडकमा गाडीहरू बिस्तारै गुडिरहेका भए पनि कानुनअनुसार “कसैलाई छुट नहुने” बेक्ह्यामलाई बताएकी थिइन्। अदालतका अनुसार बेक्ह्यामले घुँडाको तहमा हातमा राखिएको फोन चलाएको देखिएको थियो।
अभियोजनकर्ता म्याथ्यू स्प्र्याट भन्छन्, “सीधा अगाडि हेरेर सडकमा ध्यान दिनुको साटो उनले तलतिर ध्यान दिए।”
बेक्ह्यामको पक्षमा वकालत गरेका जेर्राड टिरेलका अनुसार सोधिएका प्रश्नमा बेक्ह्यामले उक्त दिन वा घटनालप सम्बन्धमा आफूलाई कुनै सम्झना नभएको बताएका थिए।
बेकह्यामले के भने?
टिरेलले अदालतमा बेक्ह्यामले गाडी चलाउनुलाई फुर्सदको आनन्ददायी काम मानेको बताएका थिए। “उनी भ्याएसम्म आफ्ना सन्तानलाई विद्यालयसम्म पुर्याउन र ल्याउन जान्छन्। उनीहरू त्यस अवसरबाट वञ्चित भए पनि सजाय स्वीकारेका छन्।”
ब्रिटेनमा सवारी चलाउँदा फोन समात्ने कामलाई गैरकानुनी मानिन्छ। यद्यपि नसमातीकन ‘ह्यान्डसफ्री’ उपकरणमार्फत् बोल्न भने पाइन्छ। नियम उल्लङ्घन गरे लाइसेन्समा छ अङ्कको कारबाही गरिन्छ र २०० पौन्ड जरिवाना तिर्नुपर्छ। तर घटनाको प्रकृति हेर्दै दोषीलाई अदालतमा झिकाएर थप जरिवाना तिराउन सकिन्छ। बीबीसी
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
